Banijya News

तारकेश्वरमा कारभित्र महिला मृत फेला : मृतक सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’ भएको खुलासा

1
1.0K Shares

काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ अवस्थामा रहेको एक कारभित्र महिला मृत अवस्थामा फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। शव जलेको अवस्थामा भेटिएकाले घटनाको प्रकृति रहस्यमय देखिएको भन्दै प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार शनिबार दिउँसो स्थानीयवासीले कारबाट अस्वाभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले कारको पछाडिपट्टिको सिटमा एक महिलाको जलेको अवस्थामा शव फेला पारेको हो।

प्रहरीका अनुसार मृतक तारकेश्वर नगरपालिका-९ निवासी ४१ वर्षीया रश्मी रिजाल हुन्।उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’को रूपमा कार्यरत थिइन् । प्रारम्भिक अनुसन्धानबाट शवको पहिचान पुष्टि भएको प्रहरीले जनाएको छ। यद्यपि महिलाको मृत्यु के कारणले भयो, आगलागी कसरी भयो र घटनामा अन्य कुनै व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकको परिवारका सदस्य तथा आफन्तसँग पनि आवश्यक सोधपुछ सुरु गरेको छ। साथै मृतकको पछिल्लो गतिविधि, सम्पर्कमा रहेका व्यक्तिहरू, घटनास्थलसम्म उनी कसरी पुगिन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ। घटनास्थल आसपासका सीसीटीभी क्यामेराको फुटेज संकलन गरी विश्लेषण गर्ने काम पनि अघि बढाइएको छ।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

1

Scroll to Top