Banijya News

धान सिजनका लागि रासायनिक मल किन्न २० अर्बको बजेट सुनिश्चित

1
1.1K Shares

आगामी धान सिजनमा हुनसक्ने रासायनिक मलको सम्भावित अभावलाई टार्न सरकारले कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयमार्फत २० अर्ब २७ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको छ ।

तत्कालै नगद विनियोजन गर्न कठिन भए पनि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट खर्च लेख्ने गरी हाललाई खरिद प्रक्रिया र टेन्डर अघि बढाउन अर्थ मन्त्रालयले नीतिगत सहमति प्रदान गरेको हो ।

चालु आर्थिक वर्षका लागि यसअघि नै २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट छुट्याएर ६ लाख टन मल ल्याउने लक्ष्य राखिएकोमा, थप आवश्यक १० अर्बको अभाव पूरा गर्न यो नयाँ स्रोत सहमतिले बाटो खोलेको छ ।

रासायनिक मल खरिद प्रक्रिया अत्यन्तै लामो र झन्झटिलो हुने भएकाले, टेन्डर गरेको झन्डै २३० दिन (८ महिना) पछि मात्र मल हात पर्ने हुँदा आगामी साउन–भदौका लागि अहिले नै प्रक्रिया थाल्नु अनिवार्य देखिएको हो ।

मन्त्रालयका अनुसार यो नयाँ बजेट सहमतिले आगामी पुस मसान्तसम्मको राष्ट्रिय मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ, जसका लागि मन्त्रालयले औपचारिक निर्णय गरी सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

हालको मौज्दाततर्फ कृषि सामग्री कम्पनीसँग करिब १ लाख १७ हजार टन र साल्ट ट्रेडिङसँग करिब २९ हजार ७ सय टन मल सुरक्षित रहेको छ, जसले वैशाख–जेठसम्मको माग धान्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा केही गिरावट आई डीएपी ८५० डलर र युरिया ५३७ डलर प्रतिटन कायम भएको हुँदा, यो समयमा गरिने खरिदले लागत व्यवस्थापनमा केही राहत मिल्ने देखिन्छ ।

मल आपूर्तिलाई तीव्रता दिन चीन र भारतबाट थप युरिया तथा डीएपी मल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने साल्ट ट्रेडिङले पनि थप २५ हजार टन युरिया आयातको कार्य अघि बढाएको छ ।

वितरण प्रणालीमा हुने अनियमितता, कालोबजारी र मूल्यको मनपरी रोक्न कृषि मन्त्रालयले ‘अनुदानको मल वितरण सूचना प्रणाली’ नामक डिजिटल संयन्त्र कार्यान्वयनमा ल्याएर पारदर्शिताको प्रयास गरेको छ ।

यो डिजिटल प्रणाली मार्फत अब किसानले मलको मौज्दात र बिक्रीको अद्यावधिक विवरण सहजै हेर्न पाउनेछन्, जसले गर्दा वास्तविक किसानसम्म मलको पहुँच सुनिश्चित हुने र वितरणमा हुने पक्षपात अन्त्य हुने विश्वास लिइएको छ ।

1

Scroll to Top