नेपाली राजनीतिको केन्द्रविन्दुमा सधैँ रहिरहने झापा क्षेत्र नम्बर ५ यस पटक पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको शिखरमा छ । आगामी फागुन २१ गते हुने उपनिर्वाचन केवल एक क्षेत्रको प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र नभई, परम्परागत राजनीतिक शक्ति र उदयमान वैकल्पिक शक्तिबीचको ’अस्तित्वको लडाइँ’ बन्न पुगेको छ । एकातिर नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बलियो किल्ला जोगाउने दाउमा छन्, भने अर्कोतिर काठमाडौँ महानगरपालिकाको मेयर पद त्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका बालेन्द्र शाह (बालेन) ओलीको विरासत भत्काउने दाउमा छन् । ओलीका लागि यो चुनाव आफ्नो ‘अन्तिम राजनीतिक प्रतिष्ठा’ बचाउने लडाइँ भएको छ । बालेनका लागि यो ‘वैकल्पिक राजनीतिको जग’ गाड्ने अवसर हो । यदि ओलीले भारी मतान्तरले जितेमा उनको वर्चस्व कायमै रहनेछ, तर यदि बालेनले कडा टक्कर दिए वा चुनावै जिते भने नेपालको राजनीतिमा कस्तो परिवर्तनको सन्देश जाला त्यो सधै चर्चामा छ । फागुन २१ को नतिजाले केवल झापाको प्रतिनिधि मात्र होइन, नेपालको आगामी राजनीतिक दिशा र नेतृत्वको स्वरूप पनि तय गर्ने आकलन गर्नेहरुको संख्या पनि कम छैन् ।
ओलीको ३४ वर्षको चुनावी यात्रा उतारचढाव
२०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय केपी शर्मा ओलीको चुनावी इतिहास निकै बलियो छ । उनले प्रतिस्पर्धा गरेका ७ वटा निर्वाचनमध्ये ६ पटक जित हात पारेका छन् ।
ओलीको विरासतको सुरुवात २०४८ मा झापा–६ बाट सुरु भएको हो । यात्रामा उनले कांग्रेसका हस्ती केशवकुमार बुढाथोकीलाई पराजित गरे । त्यो समय झापामा बुढाथोकीलाई ‘सेतो बाघ’ भनिन्थियो जसलाई ढाल्ने नेताको छवि ओलीले बनाएका थिए । दोस्रो पटक ओलीले २०५१ सालमा कांग्रेसकै पूर्णानन्द शर्मा दाहाल (पिएन सर) लाई, २०५६ मा कांग्रेसका काशीलाल ताजपुरिया, २०७० मा कांग्रेसकै सुरेश सुब्बालाई पराजित गरेका थिए । दोहोरो जित ओलीले २०५६ को निर्वाचनमा निकालेका थिए । सो चुनाबमा उनी झापा–२ र झापा–६ दुवै क्षेत्रबाट विजयी भए । २०५६ बाहेक उनी निरन्तर माईपश्चिमबाटै चुनाव लड्दै आएका छन् । प्रधिपर्धी पनि नयाँ देखिएका छन् । चुनावी प्रतिस्पर्धामा उनले हराएका कांग्रेस नेताहरू बुढाथोकी, दाहाल र ताजपुरिया अहिले यो संसारमा छैनन् ।
ओलीको किल्लामा धावा बोल्ने र जित निकाल्ने काम तत्कालिन माओबादीले थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देन(सुरेश) सँग उनी पराजित भएका थिए । यो ओलीको राजनीतिक जीवनको एक मात्र चुनावी हार हो । यतिखेर उनलाई हराउँने पाटी नेकपामा रुपान्तरण भएको छ भने उमेदवार नेपाली काँग्रेशमा प्रवेश गरिसकेका छन् । त्यसयता भने २०७४ र २०७९ को निर्वाचनमा ओलीले कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारीलाई भारी मतान्तरले पराजित गरेका छन् । २०७९ मा उनले ५२,३१९ मत ल्याउँदा अधिकारी मात्र २३,७४३ मतमा खुम्चिएका थिए । यो फराकिलो जितमा बालेनको प्रवेशले झापाको राजनीतिमा माघको जाडोमा तातो बहस पैदा गरेको छ । यही बहसमा २१ फागुनको चुनावमा ओली आफ्नो मत परीक्षण गराउँदै छन् । माईपश्चिमलाई छुट्टै झापाका रूपमा विकास गराउँदै गएका ओली जीबनकै उतार्धको राजनीतिक दवावमा छन् । तर, यस पटकको चुनाव उनका लागि चुनौतीपूर्ण भएको प्रारम्भिक विश्लेषणहरू सुरु भएका छन् । तथापि, यसको भरपर्दो र विश्वसनीय आधार कोहीसँग पनि छैन । सो क्षेत्रमा कांग्रेसबाट मन्धरा चिमरिया पौडेल, नेकपाबाट रञ्जित तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मीप्रसाद संग्रौला उनीसँग प्रतिस्पर्धा गर्दै छन् । चुनाबी इतिहासले नेकपाका तामाङ पनि मजबुद पात्र हुन् । पछिल्लो माहोल र तथ्यका आधारमा ओलीको मुख्य प्रतिस्पर्धी बालेन भएको आलन गरिएको छ । यसको अलावा रास्वपाको आक्रामक चुनावी रणनीति अहिले मुख्य चर्चामा छ । झापासँग कुनै सम्बन्ध नै नभएका बालेन ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न आउनु नै एक कारण हो ।
बालेनको प्रवेशसँगै नयाँ शक्तिको चुनौती
काठमाडौँको मेयरका रूपमा एमालेसँगको पटक–पटकको वाकयुद्धपछि बालेनले अहिले सिधै चुनावी मैदानमै ओलीलाई चुनौती दिएका हुन् । यस अगाडि ओली देशकै प्रमुख प्रधानमन्त्री र बालेन काठमाडौं महानगरपालिको प्रमुख हुँदा नै दुबै बिच थुप्रै विवाद बाहिर अएका थिए । बालेनले समाजिक संजालमा र ओलीले मञ्चमा नै एकअर्काको कटु आलोचना गर्ने गरेका थिए । बालेनको उम्मेदवारी दर्ताका दिन दमकमा देखिएको जनसागरले एमाले वृत्तमा केही संशय पैदा गरेको छ । रास्वपाले पाटीको क्रेज भनेको छ भने एमालले आगन्तुकको भिडको प्रतिकृया दिएको छ । आसन्न चुनाबमा पनि बालेनले काठमाडौँमा देखाएको कार्यक्षमता र ओलीमाथि गर्ने तिखो व्यङ्ग्यलाई उनले चुनावी एजेन्डा बनाएका छन् । यस्तै, रास्वपाको देशव्यापी क्रेज ओलीलाई चुनाव जित्न गाह्रो हुने अर्को कारण हो । विचार, सिद्धान्त र अनुभवभन्दा पनि ओलीसँगै चुनावी प्रतिस्पर्धा गर्ने बालेनको हिम्मतले पनि निर्वाचनमा असर गर्ने पक्का छ । मुलुकी नेतृत्व र अनुभवले ओलीलाई केही सहज हुनेजस्तो देखिए पनि यस पटकको चुनावमा जेनजी मत थपिएको र त्यो मत निर्णायक हुने भएकाले पनि ओलीलाई चुनावमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
अंकगणितको पेचिलो खेल
झापा ५ क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता छन् । स्थानीय तह निर्वाचन २०७९ को तथ्यांक हेर्ने हो भने एमालेको स्थिति झापा ५ मा मजबुत देखिन्छ । तर ‘स्वीङ भोट’ (ढुलमुल मत) ले नतिजा उल्ट्याउन सक्ने विश्लेषण गर्नेको कमी छैन् । रास्वपाको संगठनिक संरचना नयाँ भएकै कारण कस्तो छ परीक्षण भएको छैन् । रास्वपाले बालेनलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा अघि सारेपछि दुई सम्भावित प्रधानमन्त्री भन्दै कडा प्रतिस्पर्धा भएको चर्चा गरिने गरेको छ । बालेनको मुख्य शक्ति भनेको ’जेनजी’ मतदाता र परम्परागत दलप्रति वितृष्णा रहेका स्वतन्त्र नागरिक हुन् भनेर रास्वपाले प्रचार गरिरहेको छ ।
स्थानीयमा राजनैतिक नेतृत्वको अवस्था कस्तो ?
झापा ५ मा निर्वाचन क्षेत्रमा दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिका पर्छन् । वडागत मत परिमाण हेर्दा २९ वडामध्ये १८ वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन् । एमालेका वडाध्यक्षहरूले कुल ४१,६१९ मत प्राप्त गरेका थिए । कांग्रेसका वडाध्यक्षहरूले २२,०२२ मत पाउँदा माओवादीले १०,७८८ र राप्रपाले ६,०४८ मत पाएका थिए । यो चुनाबमा रास्वपा सामेल नै भएको थिएन् । यो निर्वाचन क्षेत्रका गौरीगन्ज र कमल गाउँपालिका तथा गौरादह र दमक नगरपालिकामध्ये गौरादहमा मात्रै एमालेको नेतृत्व छ । त्यहाँ प्रमुख र उपप्रमुख नै एमालेबाट विजयी भएका हुन् । गौरीगन्जमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले, कमलमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले, दमकमा प्रमुख राप्रपा र उपप्रमुख कांग्रेसबाट विजयी भएका हुन् । दमकमा राप्रपा र कांग्रेसको गठबन्धनले एमालेलाई हराएको थियो, जुन ओलीका लागि आफ्नै गृहनगरमा नैतिक दबाबको विषय हो ।
बालेन किन झापा पुगे ?
ओलीको चुनावी गढमा बालेन किन पुगे ? सबैले खोजेको प्रश्न नै यही हो । रास्वपाका जानकारहरुका अनुसार बालेनले देखेको सम्भावना २०७९ को निर्वाचनले देखाएको ‘स्वीङ भोट’ मुख्य हो । २०७९ को निर्वाचनमा रास्वपाका सुरेशकुमार पोखरेलले ११,७५९ मत ल्याएका थिए । तर समानुपातिकतर्फ रास्वपाले १८,२०५ मत प्राप्त गरेको थियो । यसले के देखाउँछ भने एमाले, कांग्रेस र राप्रपाका करिब १० हजारभन्दा बढी मतदाताले समानुपातिकमा रास्वपालाई रोजेका थिए । यही ’ग्रे एरिया’ को मतमा बालेनले आँखा गाडेका छन् ।
२०७९ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा रास्वपाले झापा–५मा १८ हजार २०५ मत पाएको छ । प्राप्त मत एमालेपछि दोस्रो हो । एमालेले प्रतिनिधिसभामा ३५ हजार ८७२ मत पाउँदा प्रदेशसभामा ३९ हजार ७४७ मत पाएको देखिन्छ । यसरी हेर्दा प्रदेशसभामा एमालेलाई भोट हाल्ने तीन हजार ८७५ मतदाताले प्रतिनिधिसभामा एमालेलाई भोट नदिएको देखिन्छ । अर्को तर्फ कांग्रेसले प्रतिनिधिसभा १६ हजार ८५९ समानुपातिक मत प्राप्त गर्दा प्रदेश सभा १७ हजार ६७३ मत पाएको थियो । कांग्रेसले प्रदेशसभामा पाएको समानुपातिक मतमध्ये ८१४ मत प्रतिनिधिसभामा अन्यत्र गएको देखिन्छ । सबैभन्दा ठुलो दरमा राप्रपाको समानुपातिक मत स्वीङ भएको देखिन्छ । राप्रपाले प्रदेशसभामा १४ हजार ७५० मत प्राप्त गर्दा प्रतिनिधिसभामा जम्मा ७ हजार ३७० मत मात्रै पाएको छ ।
रास्वपाले त्यो बेला प्रदेश सभाको निर्वाचनमा सहभागिता नै जनाएको थिएन । यसैले स्वीङ मतको अधिकांश हिस्सा सबै दलबाट रास्वपातिर गएको बुझ्न सकिन्छ । यही वितृष्ण मतको दर हेरेर नै बालेन झापा–५ मा चुनाव लड्न हौसिएका देखिन्छन् ।
एमालेलाई विद्रोह र अन्तर्घातको डर
एमालेका लागि यो चुनावमा बालेन मात्र चुनौती होइनन्, आफ्नै संगठनभित्रको असन्तुष्टि पनि ठुलो टाउको दुखाइ बनेको छ । चुनाबको मुखमा एमाले भ्रातृ संगठन युवा संघ दमकका अध्यक्ष छवि खतिवडा एमाले त्यागेर बालेनको चुनावी अभियानमा होमिएका छन् । स्थानीय युवामाझ लोकप्रिय उनको बहिर्गमनले एमालेको केही संगठित मत काटिने आकलन गरिएको छ । त्यसैगरी, कांग्रेसका दमक नगर सभापति प्रकाश प्रकाश प्रसाईँ रास्वपा प्रवेश गरेका छन् ।
रोचक त के छ भने, दमककी उपमेयर रेगिना भट्टराई उम्मेदवारी दर्ताका दिन रास्वपा प्रवेश गरेका तिनै प्रसाईंकी पत्नी हुन् । ओलीको गृहनगर दमकको मेयर र उपमेयर नै एमालेको नहुनुपनि ओलीका लागि अर्को चुनौती हो । प्रसाईसँगै उनकी पत्नी एवं दमककी उपमेयर भट्टराईको सहानुभूति पनि बालेनतर्फ हुन सक्ने आँकलन गरिएको छ । खतिवडा स्थानीय युवामाझ निकै लोकप्रिय छन् । उनले पनि केही मत रूपान्तरण गर्ने पक्का छ । उनले एमालेको संगठित सदस्यसमेत त्यागेको घोषणा गर्नु र बालेनको चुनावी अभियानमा साथसमर्थन जनाउनुले पनि ओलीलाई थप अप्ठ्यारो पर्ने देखिन्छ । प्रसाईं र खतिवडा दुवै दमक निवासी भएकाले बजार क्षेत्रको मत प्रत्यक्ष प्रभावित हुनेमा एमाले नेता, कार्यकर्ता नै स्विकार्छन् ।
नवयुवाको विद्रोहमा तामाङ तगारो
उमेरले साढे ७ दशक पार गर्न लागेका ओलीका २ प्रतिस्पर्धी युवा छन् । ३५ वर्षीय बालेनको चर्चा झापामा मात्र होइन, देशव्यापी चुलिँदो छ । देशभर रूपान्तरण र पुस्तान्तरणको आवाज बुलन्द भएकाले पनि युवासँगको प्रतिस्पर्धा ओलीका लागि चुनौतीपूर्ण छ । जानकारहरुका अनुसार झापा ५ मा भित्री रुपमा तेस्रो पात्र मजबुत हुँदै गएका छन् । यही क्षेत्रमा प्रतिपर्धी रहेका ४३ वर्षीय नेकपाका तामाङले मत बढाउँने आकलन गर्ने बढेका छन् । तामाङ राजनीतिमा अनुभवी युवा नेता हुन् । तामाङ स्थानीय भएकाले पनि यस क्षेत्रमा लोकृय छन् । अखिल (कान्तिकारी) का केन्द्रीय अध्यक्ष भएका तामाङलाई बालेन प्रवेश गर्नु अगाडिसम्म ओलीका मुख्य प्रतिस्पर्धी उमेदवार मानिने गरेको थियो । समाजिक संजालमा बालेनको चर्चा बढेपछि तामाङ गमनाम छन् । यस क्षेत्रमा बालेन र ओलीको आलोचना बढ्दै जाँदा मतदाता भने तामाङ प्रति आकर्षित हुँदै गएका छन् । ओली र बालेन देशभरको चिन्ता लिदा तामाङले क्षेत्र छोडेका छैनन् । यसबाट निर्वाचनमा बालेनको भोट काट्नेमा तामाङ अग्रस्थानमा देखिन्छन् । युवा, जनजाति र असन्तुष्टी तीनै प्रकारको भोट तामाङलाईजाने आकलन झापा ५ का राजनीतिक विश्लेषको छ । कतिपय बिश्लेषक त तामाङकै कारण बालेन अप्ठेरोमा पर्ने आकलन गर्ने गरेकाछन् । झापामा पूर्वमाओबादीको मत कुनैपनि राजनीतिक दललाई जाने देखिदैन् । अधिल्लोपटक प्रदेश सभामा पाएको समानुपातिक मत स्वीङ नभएको तत्कालीन माओवादी केन्द्रको मात्रै देखिन्छ । उसले त्यो बेला प्रतिनिधिसभामा ८ हजार ६८० मत पाउँदा प्रदेशसभा ७ हजार ७७२ मत पाएको थियो । यसबाट हार जितमा तामाङको प्रमुख रोल झापामा दखिन्छ ।
बाह्र कमरेडको प्रतिष्ठा
चुनौतीका बाबजुद पनि एमाले नेता, कार्यकर्ताको देखावटी आत्मबलमा भने कुनै कमी देखिएको छैन । झापा उपाध्यक्ष शिव ढुङ्गेल बालेनको ’जमानत जफत’ हुने दाबी गर्छन् । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आफैँ यस क्षेत्रको कमान्ड सम्हालिरहेका छन् । उनीहरूका अनुसार एमालेको ’क्याडर बेस्ड’ भोट बालेनको ‘हल्लाको मत’ भन्दा धेरै गुणा शक्तिशाली छ । झापा–५ चुनाब जित्नुभन्दा पनि जिताउँनु ठूलो प्रतिष्ठाको कुरा एमाले नेताहरुलाई भएको छ । एमालेसँग यस क्षेत्रमा कोशी प्रदेशमा मुख्य मन्त्री हिक्मत कार्कीदेखि १२ केन्द्रीय सदस्यहरुको प्रतिष्ठा पनि जोडिएको छ । केन्द्रीय सदस्य दीपक कार्की, देवेन्द्र दाहाल, गीता अधिकारी, जलवर्षा राजवंशी, इन्द्र भण्डारी, रोमनाथ ओली, गोविन्द थापा, निर्मला पाठक, मेनुका काफ्ले, होमबहादुर थापा र अनुशासन आयोग सदस्य लीला कट्टेल सोही क्षेत्रका नेता हुन् । यदी यो चुनाबमा ओली हारेमा झापा–५ का १२ जना केन्द्रीय नेताको प्रतिष्ठापनि हार्ने छ ।
कस्तो छ झापाको चुनाबी अवस्था ?
झापाका २८५ मतदानस्थलमध्ये ९५ वटालाई सुरक्षा निकायले अतिसंवेदनशील सूचीमा राखेको छ । जसमा १४७ वटा संवेदनशील र ४३ वटा सामान्यको सूचीमा छन् । जिल्लाभरका करिब एक तिहाइ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा हुनुले पनि यहाँको सुरक्षा चुनौती बढाएको छ । उच्च सुरक्षा स्रोतका अनुसार झापा–५ का ८ वटा मतदानस्थल अतिसंवेदनशील छन् । झापा जिल्ला प्रहरी कार्यालयका अनुसार यस पटकको निर्वाचन सुरक्षाका दृष्टिले चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ । त्यसमाथि भारतका २ राज्यसँग सीमा जोडिएकाले पनि यस जिल्लालाई हाई अलर्टमा राखिएको छ । पूर्वमा भारतको पश्चिम बंगाल र दक्षिणमा बिहार राज्यसँग झापाको सीमा जोडिएको छ ।
चुनौतीका बाबजुद यस पटक पनि अघिल्लाजस्तै शान्तिपूर्ण ढंगबाट चुनाव हुनेमा आफूहरू विश्वस्त रहेको झापा जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपाल बताउँछन् । २०७९ सालको चुनावमा यहाँ प्रदेशसभाको मतपत्रको ठाउँमा प्रतिनिधिसभाको मतपत्र वितरण भएको थियो भने करिब १५ वटा मत खसिसकेपछि विवाद निस्किएको थियो । तर, राजनीतिक दलहरूले सहमति गरेर निर्वाचन अघि बढाएका थिए । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रका साथै हरेक मतदानस्थल र केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरीसहित ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ । यस पटक यहाँ ४ हजार ७९७ जना निर्वाचन प्रहरी छनोट भएका छन् । साथै, सशस्त्र प्रहरी र सेना पनि परिचालन हुनेछन् । तर, सम्भावित सुरक्षा थ्रेटबारे हरेक दिन यसबारे पुनरवलोकन हुन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
झापाको निर्वाचन तथ्यांक
निर्वाचन क्षेत्र : ५
मतदाता : ७,१३,५३७
उम्मेदवार : ९०
मतदानस्थल : २८५
सामान्य : ४३
संवेदनशील : १४७
अतिसंवेदनशील : ९५
मतदान केन्द्र : ८१५


