नेपालको पुँजी बजारमा ठूलो हलचल मच्चिएको छ । धितोपत्र बजारमा गम्भीर अनियमितता देखिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीको लाइसेन्स निलम्बन गरेको छ । नियामक निकायले गरेको प्रारम्भिक अनुसन्धानमा उक्त ब्रोकर कम्पनीमार्फत गैरकानुनी सेयर कारोबार भएको संकेत पाएपछि यस्तो निर्णय गरिएको हो । सेबोनका अनुसार कम्पनीले कानुनविपरीत गतिविधि गर्दै ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितोबापतको रकम अन्य ग्राहकका कारोबार मिलाउन प्रयोग गरेको, न्यूनतम अग्रिम रकम नलिई सेयर किनिदिने व्यवस्था गरेको तथा राफसाफ प्रक्रियामा समेत नियम उल्लंघन गरेको भेटिएको छ । यस प्रकरणको केन्द्रमा विवादास्पद व्यवसायी दीपक भट्ट र उनीसँग जोडिएको व्यावसायिक समूह रहेको अनुसन्धानबाट देखिएको छ ।
ब्रोकर निलम्बन, हजारौं लगानीकर्ता प्रभावित धितोपत्र बोर्डले चैत २३ गतेको निर्णयअनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको हो । सेबोनको प्रारम्भिक तथ्यांकअनुसार चैत १२ गतेसम्म उक्त कम्पनीले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी पुगेको छ । ब्रोकर कम्पनीले उधारोमा सेयर किनिदिने, रकम नलिई हितग्राही खातामा सेयर जम्मा गरिदिने र बिक्रीकर्तालाई समयमै भुक्तानी नगर्ने जस्ता कार्य गरेको पाइएको छ । यसले बजारमा कृत्रिम प्रभाव पार्ने र मूल्यमा असन्तुलन ल्याउने जोखिम देखिएको सेबोनको निष्कर्ष छ ।
ब्रोकरको लाइसेन्स निलम्बन भएपछि करिब ८० हजार लगानीकर्ता प्रत्यक्ष प्रभावित भएका छन् । यद्यपि सेबोनले लगानीकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाउन कम्पनीलाई निर्देशन दिएको छ । लगानीकर्ताले तत्काल अर्को ब्रोकरमार्फत कारोबार गर्न नपाउने व्यवस्था पनि छ । पहिले पुरानो ब्रोकरसँग राफसाफ गरी खाता बन्द भएको प्रमाण लिएपछि मात्रै नयाँ ब्रोकरमार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको नियामक निकायले जनाएको छ ।
सार्वजनिक कम्पनीको रकम प्रयोग गरेर सेयर खरिद सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल बीमा प्राधिकरणको संयुक्त अनुसन्धानले दीपक भट्ट र उनको समूहले विभिन्न पब्लिक कम्पनीको रकम प्रयोग गरेर ठूलो परिमाणमा सेयर खरिद गरेको देखाएको छ । अनुसन्धानअनुसार हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रो इन्स्योरेन्सलगायत कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ विभिन्न माध्यमबाट परिचालन गरिएको थियो । उक्त रकम प्रयोग गरेर नेपाल पुनर्बिमा कम्पनीको ठूलो संख्यामा सेयर खरिद गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस प्रकरणमा २ अर्ब ८९ करोड रुपैयाँ बराबरको करिब २० लाख कित्ता सेयर दीपक भट्टकै नाममा खरिद भएको विवरण पनि अनुसन्धानमा खुलेको छ । त्यस्तै ६२ करोड रुपैयाँ सुलभ अग्रवालकी पत्नी शुभी अग्रवालको खातामार्फत भट्टको खातामा ट्रान्सफर भएको तथा २३ करोड रुपैयाँ मोर परिवारसँग सम्बन्धित खातामा गएको पनि देखिएको छ ।
भृकुटी ब्रोकरको भूमिका
भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई यो सम्पूर्ण कारोबारको केन्द्रबिन्दु मानिएको छ । अनुसन्धानका क्रममा ब्रोकर कम्पनीले एउटा ग्राहकको सेयर बिक्रीबाट आएको रकम अर्को ग्राहकका लागि सेयर खरिद गर्न प्रयोग गरेको तथ्य फेला परेको छ । त्यसैगरी न्यूनतम २५ प्रतिशत अग्रिम रकम नलिई सेयर खरिद सुविधा दिएको र उधारो कारोबार गराएको समेत स्वीकार गरिएको छ । कानुनअनुसार ब्रोकर कम्पनीले ग्राहकलाई उधारोमा सेयर किनिदिन पाइँदैन । सेयर खरिद भएको तीन कार्यदिनभित्र (टी प्लस थ्री) सेयर र पैसा दुवै पक्षलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर भृकुटी ब्रोकरले यी सबै नियम उल्लंघन गरेको नियामक निकायको निष्कर्ष छ ।
शंकर समूह पनि अनुसन्धानको घेरामा
दीपक भट्टसँगको साझेदारीका कारण नौ दशक पुरानो व्यावसायिक घराना शंकर समूह पनि अनुसन्धानको दायरामा आएको छ । भट्ट पक्राउ परेपछि शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि पक्राउ गरेर छोडिएको छ भने उनका छोराहरु पक्राउपछि अनुसान्धानमा छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल तथा उनका छोरा एवं समूहका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेपछि यो प्रकरणले व्यापक चर्चा पाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपक भट्टलाई पक्राउ गरेपछि उनीसँग सम्बन्धित आर्थिक कारोबारको श्रृंखला खोलिँदै गएको हो । सोही क्रममा शंकर समूहका सञ्चालकहरू समेत अनुसन्धानको दायरामा आएका हुन् ।
शंकर समूह नेपालको सबैभन्दा ठूलो निजी व्यापारिक समूहहरूमध्ये एक हो । सन् १९३५ मा काठमाडौंको न्युरोडमा कपडाको व्यापारबाट सुरु भएको यो समूह अहिले स्टिल, सिमेन्ट, अटोमोबाइल, हाइड्रोपावर, इन्स्योरेन्स लगायत ४० भन्दा बढी उद्योग–व्यवसायमा फैलिएको छ । समूहअन्तर्गतका उद्योगहरूले १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने वार्षिक कारोबार सवा खर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान छ । बैंक तथा वित्तीय संस्थाबाट मात्रै यस समूहले करिब ३० अर्ब रुपैयाँ ऋण लिएको बताइन्छ । भट्टसँगको साझेदारीमा भएका परियोजनाहरू जोड्दा कुल ऋण १ खर्ब रुपैयाँ हाराहारी पुगेको बैंकिङ स्रोतको दाबी छ ।
कसरी सुरु भयो भट्ट–अग्रवाल सम्बन्ध ?
भट्ट र शंकर समूहबीचको सम्बन्ध कोभिड–१९ महामारीताका सुरु भएको बताइन्छ । त्यतिबेला शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल ‘थर्मल गन’ कालोबजारी प्रकरणमा पक्राउ परेका थिए । पाँच हजार रुपैयाँ पर्ने उपकरण १५ हजार रुपैयाँमा बेच्न खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि राजनीतिक पहुँच प्रयोग गरेर अग्रवाललाई छुटाउन दीपक भट्ट सक्रिय भएको स्रोतहरूको दाबी छ । त्यही घटनापछि दुवै पक्षबीच नजिक सम्बन्ध बनेको र साझेदारी व्यवसाय सुरु भएको बताइन्छ ।
राजनीति, नीति र व्यापार
भट्टलाई विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निकट सम्बन्ध भएका बिचौलियाका रूपमा चिनिन्छ । स्रोतहरूका अनुसार यही पहुँच प्रयोग गरेर उनले विभिन्न व्यवसायिक समूहलाई लाइसेन्स, नीतिगत सुविधा तथा सरकारी निर्णयमा प्रभाव पार्ने काम गर्दै आएका थिए । विशेषगरी बीमा क्षेत्रमा प्रभाव बढाउन भट्ट र शंकर समूहले सहकार्य गरेको बताइन्छ । यसै क्रममा हिमालयन रि–इन्स्योरेन्स कम्पनी स्थापना भएको थियो, जसमा शंकर समूह र भट्टको ठूलो लगानी रहेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार दीपक भट्टसँग जोडिएको शंकास्पद आर्थिक कारोबारको जालो विस्तार हुँदै जाँदा शंकर समूहका सञ्चालकहरूको भूमिका समेत स्पष्ट हुँदै गएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न पब्लिक लिमिटेड कम्पनीबाट ठूलो रकम परिचालन गरी सेयर बजारमा प्रभाव पार्ने प्रयास भएको देखिएको छ । विभागको अनुसन्धानअनुसार हिमालयन रि–इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज बैंकर, हिमालयन लाइफ इन्स्योरेन्स तथा नेपाल माइक्रो इन्स्योरेन्सलगायत कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ ‘एडभान्स’का रूपमा निकालेर ब्रोकरमार्फत सेयर खरिद गरिएको प्रारम्भिक तथ्य फेला परेको छ । उक्त रकम प्रयोग गरी नेपाल पुनर्बीमा कम्पनीको ठूलो परिमाणमा सेयर खरिद गरिएको देखिएको छ । अनुसन्धानमा दीपक भट्टकै नाममा करिब २० लाख कित्ता सेयर २ अर्ब ८९ करोड रुपैयाँ बराबरमा खरिद गरिएको विवरण प्राप्त भएको बताइएको छ । यसैक्रममा सुलभ अग्रवालकी पत्नी शुभी अग्रवालको खातामार्फत करिब ६२ करोड रुपैयाँ दीपक भट्टको खातामा स्थानान्तरण भएको र मोर परिवारसँग सम्बन्धित खातामा थप २३ करोड रुपैयाँ पठाइएको विवरण पनि अनुसन्धानकर्ताले फेला पारेका छन् ।
बैंकिङ क्षेत्रमा पनि चिन्ता
शंकर समूह नेपालका ठूला निजी व्यावसायिक समूहहरूमध्ये एक मानिन्छ । समूहअन्तर्गत स्टील, सिमेन्ट, अटोमोबाइल, जलविद्युत्, होटल, बीमा तथा उपभोक्ता सामग्री क्षेत्रका ४० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । बैंकिङ स्रोतका अनुसार शंकर समूहले विभिन्न वाणिज्य बैंकहरूबाट झन्डै एक खर्ब रुपैयाँ बराबरको ऋण सुविधा लिएको तथ्य सार्वजनिक भएको छ । हालसम्म उक्त ऋण नियमित तिर्दै आएको बताइए पनि पछिल्लो घटनाक्रमले बैंकिङ क्षेत्रमा चासो बढाएको छ । बैंकरहरूका अनुसार यदि समूहको वित्तीय अवस्था कमजोर भयो भने बैंकहरूको खराब कर्जा अनुपातमा असर पर्न सक्ने जोखिम देखिन्छ, यद्यपि तत्काल ठूलो संकटको सम्भावना भने कम रहेको आकलन गरिएको छ ।
पुरानो विवाद फेरि सतहमा
सुलभ अग्रवाल यसअघि पनि विवादमा तानिएका थिए । कोभिड–१९ महामारीका बेला थर्मल गन कालोबजारी गरेको आरोपमा उनी पक्राउ परेका थिए । त्यतिबेला राजनीतिक संरक्षणका कारण उनीमाथि कडा कारबाही हुन नसकेको आरोप लाग्दै आएको थियो । हाल यो प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राजस्व अनुसन्धान विभागले छुट्टाछुट्टै रूपमा अनुसन्धान अघि बढाइरहेका छन् । अनुसन्धानकर्ताहरूका अनुसार अर्बौं रुपैयाँ बराबरको आर्थिक कारोबार, नीतिगत प्रभाव र सम्भावित सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित प्रमाण संकलन भइरहेको छ । यदि अनुसन्धानले ठोस निष्कर्ष निकाल्यो भने यो प्रकरण नेपालको आर्थिक सुशासन र वित्तीय पारदर्शिताका दृष्टिले महत्वपूर्ण मोड बन्न सक्ने अधिकारीहरूको भनाइ छ । अहिले भने भट्ट–अग्रवाल समूहसँग सम्बन्धित सम्पूर्ण आर्थिक गतिविधिको विस्तृत परीक्षण भइरहेको छ ।


