सरकार गठन भएको १७ दिनपछि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणले सरकारका अधिकांश मन्त्रीहरू आर्थिक रूपमा निकै सशक्त रहेको देखाएको छ। कतिपय मन्त्रीहरूको सम्पत्तिमा करोडौँको घरजग्गा, ठूलो मात्रामा नगद मौज्दात, सुन–चाँदी तथा विभिन्न कम्पनीका सेयर लगानी उल्लेख छन् भने केहीले पशुपालनसमेत आफ्नो सम्पत्तिका रूपमा देखाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको विवरणअनुसार उनीसँग सबैभन्दा बढी नगद मौज्दात देखिएको छ। उनले एक करोड ४६ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन्। सामाजिक सञ्जाल—फेसबुक, युट्युब र टिकटकबाट प्राप्त आम्दानीलाई पनि उनले आफ्नो आयस्रोतका रूपमा देखाएका छन्। उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन, चाँदी र हिराका गहना रहेको छ, जसको स्रोत पैत्रिक सम्पत्ति बताइएको छ। काठमाडौँ महानगरपालिका–९ मा ५ आना, धनुषामा १.२ बिघा र महोत्तरीमा ९ बिघा जग्गा परिवारका विभिन्न सदस्यका नाममा रहेको विवरणमा उल्लेख छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्तिमा घरजग्गाको प्रभुत्व देखिन्छ। ललितपुर, काभ्रे र बन्दीपुरमा गरी १२ करोडभन्दा बढी मूल्यका घर र अपार्टमेन्ट रहेको उनले उल्लेख गरेका छन्। साथै, सानिमा मिडल तमोर हाइड्रो, सांग्रिला विकास बैंक, अपर मादी खोला हाइड्रो लगायतका कम्पनीहरूमा ठूलो मात्रामा सेयर लगानी रहेको छ। नेसनल फन्ड म्यानेजमेन्ट र अन्य कम्पनीहरूमा पनि उनले लगानी गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र करिब १० लाख रुपैयाँ नगद रहेको छ। तनहुँ र पूर्वनवलपुरमा पैत्रिक तथा खरिद गरिएको जग्गा, नेपालगन्जमा समेत जग्गा रहेको उनले उल्लेख गरेका छन्। विभिन्न निजी कम्पनी तथा बैंकहरूमा उनको सेयर लगानी रहेको छ भने एउटा सवारी साधन पनि रहेको छ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग काठमाडौँमा दुईवटा घर, सुन–चाँदी र करिब ७९ लाख रुपैयाँ नगद रहेको छ। उनीसँग एक करोडभन्दा बढी मूल्यको सेयर लगानी रहेको छ भने ल्यान्ड क्रुजर, इलेक्ट्रिक गाडी र स्कुटर पनि रहेको विवरणमा उल्लेख छ।
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमा ठूलो परिमाणमा सेयर लगानी देखिन्छ। विभिन्न कम्पनीहरूमा उनको कुल सेयर मूल्य ४ करोडभन्दा बढी रहेको छ। साथै, ८९ तोला सुन, ६ किलो चाँदी र ६० लाखभन्दा बढी नगद मौज्दात पनि छ। धनकुटा, चितवन र गोरखामा ठूलो क्षेत्रफलको जग्गा रहेको छ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग रूपन्देही, नवलपरासी र स्याङ्जामा घरजग्गा छ। उनले ९० लाख रुपैयाँ बैंकमा बचत रहेको, ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन्।
कानुन मन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा घर, विभिन्न बैंक खातामा १० लाखभन्दा बढी रकम, १५ तोला सुन र अन्य गहना रहेको छ। उनले गाडी खरिदका लागि ऋण लिएको विवरण पनि सार्वजनिक गरेकी छन्। साथै, पर्यटनसम्बन्धी कम्पनीमा उनको सेयर लगानी रहेको छ।
महिला तथा बालबालिका मन्त्री सीता वादीको सम्पत्तिमा १८ तोला सुन, १५ तोला चाँदी र १५ लाख रुपैयाँ नगद रहेको छ। उनले २० वटा कुखुरा र एउटा कुकुरलाई पनि आफ्नो सम्पत्तिका रूपमा उल्लेख गरेकी छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग काठमाडौं र बारामा जग्गा, २५ तोला सुन, २४ लाख रुपैयाँ बैंक बचत र गाडी रहेको छ। उनले बैंकबाट ऋण लिएको पनि उल्लेख गरेकी छन्। स्वास्थ्यमन्त्री निशा मेहतासँग ३० तोला सुन, ५० तोला चाँदी, काठमाडौँमा जग्गा, १७ लाखभन्दा बढी नगद र केही सेयर लगानी रहेको छ। उनीसँग एउटा सवारी साधन पनि छ।
शिक्षामन्त्री सस्मित पोखरेलको परिवारसँग काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा, ठूलो परिमाणमा सुन–चाँदी, सेयर लगानी र राष्ट्रिय बचत पत्रमा रकम रहेको छ। कुल सम्पत्ति २४ करोडभन्दा बढी र ७५ लाख ऋण रहेको विवरणमा उल्लेख छ।
पर्यटन मन्त्री खडकराज पौडेलसँग पोखरामा घरजग्गा, २१ तोला सुन, विभिन्न बैंकमा २२ लाखभन्दा बढी नगद र सेयर लगानी रहेको छ। उनले एक करोडभन्दा बढी ऋण पनि देखाएका छन्।
सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले ४७ लाख रुपैयाँ अरूलाई ऋण दिएको उल्लेख गरेका छन्। साथै, बैंकमा १० लाखभन्दा बढी रकम, सुन–चाँदी, घरजग्गा र सवारी साधन रहेको छ।
कृषिमन्त्री गीता चौधरीसँग ५ तोला सुन, १०० तोला चाँदी, बर्दिया र रूपन्देहीमा जग्गा, थोरै नगद बचत र सेयर लगानी रहेको छ। उनले २ वटा बाख्रा र १० वटा कुखुरा पनि आफ्नो सम्पत्तिमा समावेश गरेकी छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवको सम्पत्तिमा काठमाडौं र महोत्तरीमा व्यापक जग्गा, तीनतले घर, १८० तोला सुन, २ किलो चाँदी, ३ करोडभन्दा बढी सेयर लगानी र बैंक मौज्दात रहेको छ। उनले जग्गा भाडाबाट मासिक आम्दानी हुने पनि उल्लेख गरेकी छन्।
श्रममन्त्री रामजी यादवसँग सप्तरीमा ठूलो परिमाणमा जग्गा, ८० तोला सुन, १५० तोला चाँदी, ७० लाख नगद र मोटरसाइकल रहेको छ। समग्रमा हेर्दा, मन्त्रीहरूको सम्पत्ति विवरणले नेपाली राजनीतिमा आर्थिक हैसियतको स्पष्ट चित्र प्रस्तुत गरेको छ। कतिपय मन्त्रीहरू उद्योग, व्यवसाय र लगानीबाट समृद्ध देखिएका छन् भने केहीले पैत्रिक सम्पत्ति र कृषि–पशुपालनलाई पनि आफ्नो आर्थिक आधारका रूपमा देखाएका छन्।
कुन मन्त्रीको कति छ त सम्पत्ति?
प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रूपैयाँ रहेको छ। फेसबुक, युट्युब, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्।
काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युब र टिकटक खाता रहेको उल्लेख गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्ले
सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेको सम्पत्ति ललितपुर र काभ्रेमा अपार्टमेन्टसहित तनहुँमा पैतृक सम्पत्ति, सुन, र शेयरमा ठूलो लगानी देखिएको छ । यस्तै उनको विभिन्न बैंक खातामा नगद मौज्दात समेत राम्रै देखिएको छ । को सम्पत्ति विभिन्न क्षेत्रहरूमा फैलिएको देखिएको छ, जसमा घरजग्गा, सुन, बैंक मौज्दात र शेयर लगानी प्रमुख रूपमा रहेका छन्।
सम्पत्ति विवरणमा उल्लेख भएअनुसार वाग्लेको नाममा ललितपुर र काभ्रे जिल्लामा गरी करिब १० करोड ७५ लाख रुपैयाँ बराबरका दुई वटा अपार्टमेन्ट रहेका छन्। यसले शहरी क्षेत्रमा उनको राम्रो लगानी रहेको देखाउँछ। त्यसैगरी तनहुँ जिल्लाको बन्दिपुरमा करिब २ करोड रुपैयाँ मूल्य बराबरको ३ रोपनी ३ आना जग्गा रहेको छ, जुन पैतृक सम्पत्तिको रूपमा उल्लेख गरिएको छ। साथै, तनहुँकै भानु नगरपालिकामा उनको नाममा ८ लाख ५० हजार रुपैयाँ बराबरको ६ रोपनी जग्गा रहेको पनि विवरणमा जनाइएको छ।
अर्थमन्त्री वाग्लेले आफ्नो तथा श्रीमतीको नाममा गरी जम्मा ४५ तोला सुन रहेको जानकारी दिएका छन्। यसका साथै, विभिन्न बैंक खाताहरूमा रहेको नगद मौज्दात पनि उल्लेखनीय देखिन्छ। हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल १ करोड ९० लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरिएको छ।
शेयर बजारमा पनि वाग्लेको ठूलो लगानी रहेको पाइएको छ। उनले विभिन्न कम्पनीहरूमा गरी कुल ४ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको उल्लेख गरेका छन्। विशेष गरी सानिमा मिडल तमोर हाइड्रोपावरमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता शेयर रहेको जनाइएको छ। यसबाहेक, नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो खोला हाइड्रोपावरमा ६० लाख रुपैयाँ तथा अपर मादी खोला हाइड्रोपावरमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको विवरणमा समावेश गरिएको छ।
सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता र सुशासनतर्फको महत्वपूर्ण कदम मानिएको छ। यसले जनतामा सरकारप्रति विश्वास बढाउने अपेक्षा गरिएको छ भने सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आर्थिक अवस्था स्पष्ट रूपमा देखाउने काम पनि गरेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादव
उद्योगमन्त्री गौरी कुमारी यादवको विस्तृत सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणले मन्त्री यादवसँग काठमाडौँदेखि मधेससम्म फैलिएको ठूलो परिमाणको जग्गाजमिन, सुन–चाँदी, बैंक मौज्दात र करोडौँ रुपैयाँ बराबरको लगानी रहेको देखाएको छ।
सार्वजनिक विवरणअनुसार मन्त्री यादवको काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाम क्षेत्रफलमा बनेको तीनतले घर रहेको छ। त्यस्तै, काठमाडौँ–१० मा मात्रै उनको नाममा विभिन्न स्थानमा १४ आना, ७ आना १ पैसा २ दाम र ९ आना १ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ। राजधानीमै यति धेरै जग्गा स्वामित्वले उनको शहरी सम्पत्ति बलियो रहेको संकेत गर्दछ।
मधेस प्रदेशअन्तर्गत महोत्तरी जिल्लामा पनि उनको जग्गा उल्लेखनीय मात्रामा फैलिएको छ। बर्दिबास नगरपालिकामा १४ कठ्ठा र अर्को स्थानमा १५ कठ्ठा जग्गा रहेको छ भने बर्दिबासकै अन्य दुई स्थानमा साढे ६ बिघा जग्गा रहेको जनाइएको छ। यसबाहेक, सम्सीमा १ कठ्ठा जग्गा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरीसमेत उनको नाममा रहेको विवरणले देखाउँछ। यसले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समेत उनको लगानी विस्तार भएको देखिन्छ।
नगद तथा जिन्सी सम्पत्तिको विवरण हेर्दा मन्त्री यादवसँग १८० तोला सुन, दुई किलो चाँदी र हिराका चार वटा रिङ (दुई सेट) रहेको खुलाइएको छ। उक्त सुन करिब ३० वर्षअघि खरिद गरिएको बताइएको छ। यसले दीर्घकालीन बचत र सम्पत्ति सञ्चयको संकेत गर्दछ।
बैंक तथा वित्तीय संस्थामा पनि उनको मौज्दात रहेको छ। विवरणअनुसार सिद्धार्थ बैंकमा ४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा १ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकमा २ लाख रुपैयाँ, सीभीआईसीमा डेढ लाख रुपैयाँ र मनमोहन स्वास्थ्य सहकारीमा डेढ लाख रुपैयाँ बचत रहेको छ। यसका अतिरिक्त, विभिन्न कम्पनीहरूमा उनले ३ करोड ३८ लाख रुपैयाँ लगानी गरेको विवरणमा उल्लेख गरिएको छ, जसले उनको व्यवसायिक सक्रियता पनि देखाउँछ।
सवारी तथा अन्य सम्पत्तितर्फ ५७ लाख रुपैयाँ मूल्य बराबरको कार रहेको उल्लेख छ, जुन कात्तिक यादवको नाममा दर्ता रहेको बताइएको छ। साथै, उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा आम्दानी हुने गरेको विवरणमा खुलाइएको छ। यसले उनको स्थिर आम्दानीको स्रोतसमेत रहेको देखाउँछ।
सम्पत्तिसँगै दायित्वतर्फ पनि उनले जानकारी दिएकी छन्। शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको छ भने कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको उल्लेख गरिएको छ। सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यासअन्तर्गत उद्योगमन्त्री यादवको विवरण पनि सार्वजनिक गरिएको हो।
परराष्ट्रमन्त्री शिशिर खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार खनालसँग घर, जग्गाजमिन, नगद, सुन–चाँदी, विभिन्न कम्पनीमा लगानी तथा ऋणसमेत रहेको देखिएको छ।
सार्वजनिक विवरणअनुसार खनालको काठमाडौँ महानगरपालिका–१०, टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको छ। राजधानीमै रहेको यो घर उनको मुख्य आवासका रूपमा प्रयोग भइरहेको जनाइएको छ। जग्गाजमिनतर्फ भने उनको सम्पत्ति तीन जिल्लामा फैलिएको देखिन्छ। तनहुँ जिल्लाको भानु नगरपालिका क्षेत्रमा १५ रोपनी पुर्ख्यौली जग्गा रहेको छ भने नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी जग्गा रहेको उल्लेख छ। त्यसैगरी बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ। यीमध्ये केही पुर्ख्यौली र केही स्वआर्जित सम्पत्ति रहेको जनाइएको छ।
नगद तथा जिन्सी सम्पत्तिको विवरणमा खनालसँग १० लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख छ। साथै, उनले २२ तोला सुन र २५ तोला चाँदी आफूसँग रहेको जानकारी दिएका छन्। यी सम्पत्तिहरूले उनको व्यक्तिगत बचत र लगानीको स्थिति देखाउने सरकारी विवरणमा उल्लेख गरिएको छ।
खनालको लगानी विभिन्न क्षेत्रका कम्पनीहरूमा फैलिएको देखिन्छ। उनले ‘पिक एण्ड ड्रप नेपाल’ नामक कम्पनीमा ३३ प्रतिशत शेयर स्वामित्व राखेका छन् भने ‘रिग्पा इन्टरनेशनल’ मा शतप्रतिशत स्वामित्व रहेको जनाइएको छ। त्यस्तै ‘ताजा एग्रो फार्म’ मा उनको १६ प्रतिशत हिस्सा रहेको छ। यसबाहेक उनले बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंक लगायतका विभिन्न सार्वजनिक कम्पनी तथा जलविद्युत आयोजनाहरूमा पनि लगानी गरेको विवरणमा उल्लेख गरिएको छ। यसले उनी व्यवसायिक रूपमा पनि सक्रिय रहेको संकेत गर्दछ।
सवारी साधनतर्फ खनालले करिब ४० लाख रुपैयाँ मूल्य बराबरको गाडी प्रयोग गरिरहेका छन्। यद्यपि, सम्पत्तिसँगै उनले आफ्नो दायित्व पनि खुलाएका छन्। विवरणअनुसार उनीसँग ७५ लाख रुपैयाँ बराबरको ऋण रहेको छ, जसले उनको वित्तीय अवस्थाको अर्को पक्ष प्रस्तुत गर्छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई वटा घर छन्। वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ। यस्तै, सुन र चाँदी १५÷१५ तोला रहेको विवरणमा उल्लेख छ। उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रूपैयाँ ३३ पैसा नगद छ। १ करोड ४५ लाख ४८ हजार ४२० रूपैयाँको २० हजार ९७८ कित्ता सेयरका अलावा उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर पनि छ।
गृहमन्त्री सुधन गुरुङ
सार्वजनिक विवरण अनुसार गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रूपैयाँ मूल्यको सेयर रहेको छ। सुधन आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख), लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान (खरिद मूल्य ५७ लाख), धितोपत्र बजारमा कारोबार हुने सेयरहरू २ करोड ७४ लाख ५६ हजार २०० रूपैयाँ बराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान (खरिद मूल्य ७० लाख) रहेको छ। यी सबै सेयर खरिद व्यवसाय र पैत्रिक सम्पत्तिबाट किनेको गृहमन्त्री गुरुङको दाबी छ। यस्तै, ८९ तोला सुन र ६ किलो चाँदी गृहमन्त्री गुरुङसँग छ। उनीसँग नगद मौज्दात ६१ लाख बढी देखिएको छ। लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा १ हजार ५७४ रूपैयाँ मौज्दात छ।
लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रूपैयाँ बराबरको गाडी गएको असोजमा खरिद गरेको खुलेको छ। यस्तै, आफ्नो नाममा धनकुटाको कार्कीछापमा ५ मा १९ रोपनी १५ आना, पिताको नाममा चितवनको भरतपुर १८ मा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी रहेको छ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालसँग जमुना लम्सालका नाममा रूपन्देहीमा १ कट्ठा १० धुरमा बनेको घर छ। जमुना लम्सालकै नाममा नवलपरासीको कावासोतीमा १० कट्ठा १५ धुर जग्गा र बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी छ। ९० लाख रूपैयाँ बैंक ब्यालेन्स रहेका लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन्।
कानुनमन्त्री सोविता गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर छन्। श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौँ क्षेत्र नं ३ मा र सासू आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सार्वजनिक भएको विवरणमा उल्लेख छ। गौतमले ५ वटा बैंकमा १० लाख ५० हजार ३३५ रूपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन्। उनले १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। उनको र श्रीमानको नाममा छुट्टाछुट्टै गाडी छन्। गौतमका नाममा २६ लाख र श्रीमान गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रूपैयाँको गाडी छ। यी दुवै सवारी खरिद गर्दा ४५ लाख ऋण लिएको र बाँकी रकम तलब र पुरानो गाडी साटेको विवरणमा उल्लेख छ। यस्तै एउटा स्कुटर पनि उनीहरूसँग छ। ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्स प्रालिमा ५० प्रतिशत सेयर गौतमको छ। सोपान मल्टिपल कम्पनीको ६ हजार ५०० कित्ता सेयर छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार उनीसँग एनआईसी र प्रभु बैंकमा १५ लाख रूपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन्। मन्त्री वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन्।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावल
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पनि आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा मन्त्री रावलका नाममा छ। उनले यी जग्गाको स्रोत श्रीमान्को आय भनेकी छन्। रावलसँग २५ तोला सुन र बैंकमा २४ लाख रूपैयाँ बचत रहेको छ। उनीसँग ४४ लाखको गाडी पनि छ। २० लाख रूपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएको उल्लेख छ।
स्वास्थ्यमन्त्री निशा मेहता
स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी छ। काठमाडौँको सौखेलमा ७ आना जग्गा छ। यस्तै, १७ लाख २३ हजार ५३५ रूपैयाँ नगद, २४० कित्ता सेयर छ। उनले २५ लाख रूपैयाँ पर्ने गाडी चढ्ने गरेकी छन्।
शिक्षामन्त्री सस्मित पोखरेल
सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र उनको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ। २५ तोला सुन, १०० तोला चाँदी भएका पोखरेलको बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात छ।
बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूको नाममा करिब ३० लाख बराबरको सेयरमा लगानी छ। बुवा रमेशकुमारको राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रूपैयाँ बराबर छ। बुबा राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई उनले यसको स्रोतको रूपमा देखाएका छन्। आमा मीनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रूपैयाँ बराबरको सेयर छ। मन्त्री पोखरेलले आफ्नो र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण बुझाएका छन्।
हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ। बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। सम्पत्ति विवरणमा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख उल्लेख छ। उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रूपैयाँ बराबरको छ।
पर्यटनमन्त्री खडकराज पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेलको भाउजूको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाख रूपैयाँको घर रहेको छ भने आमाको नाममा पोखराका तीन ठाउँमा १८३०.६७ वर्गमिटर जग्गा रहेको छ। यस्तै, २१ तोला सुन र पाँच तोला चाँदी रहेको छ। मन्त्री पौडेलले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा विभिन्न बैंक र सहकारीमा गरी २२ लाख ७३ हजार २२ रूपैयाँ नगद देखिएको छ। उनको विभिन्न कम्पनीमा १८ हजार १५२ कित्ता सेयर छ। उनले बैंक र सहकारीमा गरी एक करोड ४० लाख रूपैयाँ ऋण देखाएका छन्। मन्त्री पौडेलसँग एउटा जिप र दुईवटा स्कुटर छन् भने विभिन्न कम्पनीमा २ करोड २५ लाख रूपैयाँ लगानी रहेको देखाएका छन्।
सञ्चारमन्त्री विक्रम तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले ४७ लाख रूपैयाँ अरुलाई ऋण दिएका छन्। बलराम लामिछानेलाई १५ लाख र केशव राईलाई ३३ लाख रूपैयाँ ऋण दिएको उल्लेख छ।
यस्तै उनको खातामा १० लाख २४ हजार ३६५ रूपैयाँ मौज्दात छ। मञ्जु गैरेको खातामा १० हजार २१ रूपैयाँ मौज्दात छ। उनीसँग ५ तोला सुनका गहना, १० तोला चाँदी र ५० हजारको मोती माला छ। मञ्जुको नाममा काठमाडौँको नागार्जुनमा एउटा घर र जग्गा छुट्टै पनि छ। यस्तै उनीसँग २३ लाख रूपैयाँको गाडी पनि छ।
कृषिमन्त्री गीता चौधरी
कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी छ। सरकारले सार्वजनिक गरेको विवरण अनुसार उनको हाल घर नभए पनि आफ्नो नाममा बर्दियामा ३० लाख मूल्यको जग्गा र रूपन्देहीमा श्रीमान सुनिल चौधरीको नाममा पैतृक सम्पत्तिको जग्गा छ। मन्त्री चौधरीसँग विभिन्न बैंकमा रहेका खातामा एक लाख २६ हजार रूपैयाँ मौज्दात छ। विभिन्न कम्पनीका सेयर, ३ लाख ३० हजारको स्कुटर छ। यस्तै २ वटा बाख्रा र १० वटा कुखुरा माइतबाट उपहार पाएको उनले उल्लेख गरेकी छन्। ६५ हजारको ल्यापटप, ९० हजारको मोबाइल र ५० हजार रूपैयाँको घडी पनि उनीसँग छ। यी सबै आफ्नै कमाइबाट किनेको उनको दाबी छ।
श्रममन्त्री रामजी यादव
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कट्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन्। यस्तै राजविराजमै विभिन्न ठाउँमा २९ कट्ठा ३३ धुर जग्गा रहेको छ। यस्तै ८० तोला सुन र १५० तोला चाँदी भएको यादवले सम्पत्ति विवरणमा खुलाएका छन्। उनीसँग विभिन्न बैंकमा ७० लाख नगद छ। उनले २ लाख ७० हजारको मोटरसाइकल रहेको बताएका छन्।


