पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलामको सूर्योदय नगरपालिकामा चिया उद्योग गम्भीर संकटमा परेको छ। भारतले नेपाली चियाको आयातमा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी) लागू गरेपछि यहाँका उद्योगहरू सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेका छन्। यसै परिप्रेक्ष्यमा, सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि आफ्ना आबद्ध सम्पूर्ण उद्योगहरूको उत्पादन तथा प्रशोधन कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ। एसोसिएसनमा आवद्ध ५३ उद्योग एकैपटक बन्द हुँदा यसको प्रभाव केवल उद्योगमा मात्र सीमित रहने छैन, बरु हजारौँ किसान, मजदुर र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको छ।
भारत सरकारले गत मे १ (बैशाख १८) देखि नेपाली चियाको आयातमा कडाइ गर्दै नयाँ एसओपी लागू गरेको थियो। प्रारम्भिक २१ दिनसम्म निर्यात पूर्ण रूपमा प्रभावित बनेको थियो भने त्यसपछि जेठ ६ गतेदेखि केही सहज बनाइएको भनिए पनि व्यवहारमा स्थिति सुधार हुन सकेन। विशेषगरी भारतीय आयातकर्ताको गोदाममै पुगेर प्रत्येक चियाको बोराबाट नमुना संकलन गर्ने प्रक्रिया सुरु भएपछि आयातकर्ताहरूले चिया आयातका लागि आवश्यक फाराम भर्न समेत छाडेका छन्। यसले निर्यात प्रक्रियालाई थप जटिल र अनिश्चित बनाएको छ।
हालसम्म आधा दर्जनभन्दा बढी ट्रकबाट संकलित चियाको नमुना परीक्षणका लागि पठाइएको भए पनि एक सातासम्म प्रयोगशालाको प्रतिवेदन नआएको उद्योगीहरूले बताएका छन्। यसले गर्दा निर्यात पूर्ण रूपमा ठप्प जस्तै बनेको छ। लामो समयसम्म गोदाममा थन्किएर बसेको चियाको स्वाद र गुणस्तरमा गिरावट आउने जोखिम बढ्दो छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छवि नै कमजोर बन्ने चिन्ता उद्योगीहरूमा देखिएको छ।
सूर्योदय नगरपालिकामा मात्र ६५ भन्दा बढी चिया उद्योग सञ्चालनमा रहेका छन्, जसमध्ये ५३ उद्योग एसोसिएसनमा आवद्ध छन्। ती सबै उद्योग बन्द हुँदा यहाँका २ हजार ९९५ किसान प्रत्यक्ष प्रभावित हुनेछन्। करिब ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा फैलिएको चिया खेतीबाट वार्षिक २ करोड किलोभन्दा बढी हरियो पत्ती उत्पादन हुने गर्दछ। यस क्षेत्रमा चिया खेती र उद्योग स्थानीय जीविकोपार्जनको मुख्य आधार हो।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा थन्किएको छ। तीमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय गोदाममै अड्किएको छ भने बाँकी १० लाख किलोभन्दा बढी चिया नेपालमै उद्योगहरूमा थन्किएको अवस्था छ। यस्तो अवस्थामा उद्योग सञ्चालन गर्नु आर्थिक रूपमा असम्भवजस्तै भएको उनले बताएका छन्।
उद्योगी सुजन ढुङ्गेलका अनुसार किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन नसक्दा उद्योगका गोदामहरू भरिएका छन्। उत्पादन रोक्न नसक्ने तर बिक्री पनि हुन नसक्ने अवस्थाले उद्योगीहरूलाई थप समस्यामा पारेको छ। उनले भने, “किसानलाई भुक्तानी दिनुपर्ने दायित्व छ, तर बिक्री नभएपछि नगद प्रवाह ठप्प भएको छ। यस्तो अवस्थामा उद्योग सञ्चालन गर्न कठिन छ।”
विशेषगरी चैत र वैशाख महिनालाई उच्च गुणस्तरको चिया उत्पादन हुने मुख्य सिजन मानिन्छ। यही समयमा भारतले नयाँ जटिल प्रक्रिया लागू गर्दा उद्योगीहरू थप मारमा परेका छन्। उद्योगीहरूका अनुसार यदि सरकारले कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सके तत्कालका लागि उद्योग बन्द गर्ने निर्णय पुनर्विचार गर्न सकिने सम्भावना रहेको छ।
एसोसिएसनका महासचिव गोपाल कट्टेलले यसपटकको समस्या विगतका वर्षहरूको भन्दा गम्भीर रहेको बताएका छन्। उनले भने, “पहिले पनि भारतले विभिन्न बहानामा अवरोध सिर्जना गर्थ्यो, तर यसपटक बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ। यो गुणस्तर परीक्षणको नाममा गरिएको व्यापारिक अवरोध जस्तो देखिन्छ।”
यस संकटले स्थानीय तहलाई समेत चिन्तित बनाएको छ। सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालका अनुसार नगरभित्र हजारौँ मजदुर र किसान चिया उद्योगमा निर्भर छन्। उद्योग बन्द हुँदा उनीहरूको रोजगारी र आम्दानी दुवैमा गम्भीर असर पर्नेछ। उनले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तथ्यांकअनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गर्दछ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा निर्भर छ। यसले देखाउँछ कि नेपाली चिया उद्योग अत्यधिक रूपमा एकै बजारमा निर्भर रहेको छ, जसले यस्ता नीतिगत परिवर्तनको जोखिम बढाएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालले ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड १३ लाख किलोभन्दा बढी चिया निर्यात गरेको छ। गत वर्षको सोही अवधिमा भने ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको १ करोड ४० लाख किलो चिया निर्यात भएको थियो। यसले निर्यातमा गिरावट आएको स्पष्ट संकेत गर्दछ।
त्यसैगरी चालु आवमा भारततर्फ मात्रै २ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ करोड ७ लाख किलो चिया निर्यात भएको छ। भारतीय बजारमा निर्भरता उच्च भएकाले त्यहाँ देखिएको सानो अवरोधले पनि नेपालको समग्र चिया उद्योगमा ठूलो असर पार्ने देखिएको छ।


