उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियालाई अगाडि बढाउँदै उक्त पदका लागि आवेदन दिएका योग्य उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले निर्धारित मापदण्डअनुसार प्राप्त भएका आवेदनहरूको अध्ययनपछि रीतपूर्वक दरखास्त पेस गरेका १६ जना उम्मेदवारको सूची प्रकाशन गरेको हो ।
मन्त्रालयका अनुसार कम्पनीमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गर्ने सूचना २०८३ जेठ २९ गते गोरखापत्र दैनिक तथा मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत प्रकाशित गरिएको थियो । सिफारिस समितिको २०८३ जेठ २८ गते बसेको बैठकको निर्णयअनुसार सार्वजनिक गरिएको सूचनामा इच्छुक तथा आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको थियो ।
सीईओ पदका लागि आवेदन दर्ता गर्ने अन्तिम म्याद २०८३ असार १८ गतेसम्म तोकिएको थियो । सो अवधिभित्र आवश्यक कागजातसहित आवेदन दिएका उम्मेदवारहरूको विवरण दर्ता क्रमसंख्याका आधारमा संकलन गरी सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । प्रकाशित सूचीमा समावेश भएका सबै उम्मेदवारहरूले आवेदन प्रक्रियाको प्रारम्भिक चरण पार गरेका छन् ।
अब नियुक्ति प्रक्रियाको अर्को चरणअन्तर्गत उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि उनीहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कम्पनी सञ्चालनसम्बन्धी दृष्टिकोणको मूल्याङ्कन गर्न अन्तर्वार्ता सञ्चालन गरिनेछ । यी दुवै चरणको मूल्याङ्कनपछि सिफारिस समितिले उत्कृष्ट उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्ने प्रक्रिया रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
हाल कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति, समय र स्थान भने तय भइसकेको छैन । मन्त्रालयले अर्को सूचना जारी गरेर सम्बन्धित उम्मेदवारलाई विस्तृत जानकारी उपलब्ध गराउने जनाएको छ । त्यसैले सूचीमा परेका उम्मेदवारहरूलाई आगामी सूचनाको प्रतीक्षा गर्न आग्रह गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुलुकभर खाद्यान्नको आपूर्ति व्यवस्थापन, सरकारी खाद्यान्न मौज्दात संरक्षण, दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी तथा बजार हस्तक्षेपजस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने सार्वजनिक संस्थान हो । यस्तो संस्थाको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृतको चयनलाई निकै महत्वपूर्ण मानिन्छ । त्यसैले छनोट प्रक्रियामा योग्यता, अनुभव, व्यवस्थापकीय क्षमता र संस्थागत सुधारको स्पष्ट योजना प्रस्तुत गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ । स्रोतका अनुसार यो संस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा दिपेन्द्र कुमार देवलाई नियुक्त गर्देछन् । उनी बालेन्द्र शाहका नजिकका पात्र मानिन्छन् । उनी सत्ता र शक्तिको भरपुर उपयोग गर्ने पात्रहुन् ।
मन्त्रालयले सीईओ नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र विधिसम्मत ढंगले अघि बढाइने जनाएपनि यहाँ देवलाई अगाडि बढाउने अन्तिम तयारी मन्त्रालयको छ ।


