उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा गायत्री कटवाल भण्डारी अध्यक्ष पदमा निर्वाचित भएकी छन्। कडा प्रतिस्पर्धाका बीच उनी १५ मतको झिनो अन्तरले विजयी भएसँगै संघको इतिहासमा पहिलोपटक महिला अध्यक्ष बन्न सफल भएकी छन्। निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक गरिएको हो।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार भण्डारीले कुल ७५८ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी नवराज काफ्लेले ७४३ मत पाए। सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा अन्तिमसम्म मतगणना रोचक बनेको थियो। अन्ततः १५ मतको अन्तरले भण्डारीले जित हात पार्दै इटहरी उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेकी हुन्।
भण्डारीको विजयसँगै इटहरीको निजी क्षेत्रको नेतृत्वमा महिला सहभागिताको नयाँ अध्याय सुरु भएको भन्दै व्यवसायीहरूले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। संघको नेतृत्वमा महिलाको उपस्थिति बढ्नु व्यवसायिक वातावरणलाई अझ समावेशी र सन्तुलित बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
यसैबीच, वाणिज्य सदस्य पदतर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित भएका छन्। उनीपछि सञ्जीव खड्का ९८४, बलराम बस्नेत ९६०, सिनेट रिजाल ९५९, सञ्जय शाह ९५७, बलबहादुर न्यौपाने ९४३, सन्नी चौधरी ९१५, दिनेशप्रसाद धमला ९०८ तथा महेश थापा ८८३ मत प्राप्त गर्दै विजयी भएका छन्। विधानअनुसार वाणिज्य सदस्यतर्फ नौ जना निर्वाचित हुने व्यवस्था रहेको छ।
यस्तै, वाणिज्य सदस्य पदका अन्य उम्मेदवारमध्ये दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ तथा हर्कबहादुर विकले ४२३ मत प्राप्त गरेका छन्। उनीहरू भने निर्वाचित हुन सकेनन्।
महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन्। अन्य उम्मेदवार पुनम थापा मगर र लीलाकुमारी राईले पनि प्रतिस्पर्धा गरे तापनि आवश्यक मत प्राप्त गर्न सकेनन्।
उद्योग सदस्य पदतर्फ अभिषेक बस्नेत १४४ मतसहित विजयी भएका छन्। उनीसँगै शिवप्रसाद भट्टराई (भूपाल)ले १३४, हरिप्रसाद तिम्सिनाले १२१ तथा किसनकुमार खेडियाले १०१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। यस पदका अर्का उम्मेदवार सुरज आङ्देम्बेले ८० मत प्राप्त गरे।
यस वर्षको निर्वाचनमा कुल दुई हजार ३६९ जना मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतदाता सहभागिता सन्तोषजनक रहेको भन्दै निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष गायत्री कटवाल भण्डारीले व्यवसायीहरूको विश्वासलाई उच्च सम्मान गर्दै संघलाई सबै सदस्यको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले व्यवसायमैत्री वातावरण निर्माण, उद्योग–व्यापार प्रवर्द्धन, लगानी आकर्षण तथा उद्यमीका समस्या समाधानलाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्ने बताएकी छन्।
इटहरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वबाट स्थानीय उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई थप गतिशील बनाउने, निजी क्षेत्र र सरकारी निकायबीच समन्वय बढाउने तथा उद्यमशीलताको विकासमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यवसायी समुदायले गरेको छ।


