बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री साई पल्लवीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनको सुरुवाती छ दिनमै भारतीय बक्स अफिसमा शानदार व्यापार गरेको छ। नितेश तिवारीको निर्देशनमा बनेको यस फिल्मले भारतमा मात्रै ४४० करोड भारुभन्दा बढी नेट कमाइ गर्दै सन् २०२६ का सफल फिल्ममध्ये आफ्नो स्थान बलियो बनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार नोभेम्बर ५ देखि प्रदर्शनमा आएको फिल्मले छैटौँ दिन अर्थात् मंगलबारसम्म भारतमा ४४० करोड ४५ लाख भारु नेट कलेक्सन गरेको छ। त्यस्तै, भारतसहित विश्वभरको कुल ग्रस कमाइ ८२३ करोड ५० लाख भारु पुगेको छ। विदेशबाट मात्रै फिल्मले २९७ करोड भारु कमाएको बताइएको छ।
फिल्मले प्रदर्शनको पहिलो दिन भारतमा ६४ करोड ८५ लाख भारु कमाएको थियो। दोस्रो दिन केही गिरावट आए पनि शनिबार र आइतबार पुनः व्यापार बढेको थियो। सोमबार फिल्मले एकै दिन १०७ करोड ५० लाख भारु कमाउँदै अहिलेसम्मकै उच्च दैनिक कारोबार गरेको थियो। छैटौँ दिन मंगलबार भने ९४ करोड १० लाख भारु कमाइ गरेको छ।
फिल्ममा रणवीर कपुरले भगवान् राम, साई पल्लवीले सीता र दक्षिण भारतीय अभिनेता यशले रावणको भूमिका निर्वाह गरेका छन्। त्यस्तै, सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा देखिएका छन्। भव्य सेट, अत्याधुनिक भिजुअल इफेक्ट्स र पौराणिक कथालाई आधुनिक सिनेम्याटिक शैलीमा प्रस्तुत गरिएकाले फिल्मप्रति दर्शकको आकर्षण बढेको देखिन्छ।
यस फिल्मको अर्को चर्चित पक्ष यसको हिन्दी र अंग्रेजी संस्करणबीचको भिन्नता हो। एनडीटिभीका अनुसार अंग्रेजी संस्करण हिन्दी संस्करणभन्दा करिब ३० मिनेट छोटो छ। हिन्दी संस्करण १९६ मिनेट र अंग्रेजी संस्करण १६६ मिनेटको रहेको छ। अंग्रेजी संस्करणमा गीत तथा केही महत्त्वपूर्ण दृश्य हटाइएको छ। भरत र रामको भेट, अयोध्याका केही प्रसङ्ग तथा राम–सीताको विवाहसँग सम्बन्धित दृश्य हिन्दी संस्करणमा समावेश छन्।
अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरी छोटो संस्करण तयार पारिएको निर्माण पक्षको भनाइ छ। सामाजिक सञ्जालमा दर्शकहरूले दुवै संस्करणका दृश्य तुलना गर्दै विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
यसैबीच, चर्चित निर्देशक रामगोपाल वर्माले पनि फिल्मको भव्यता र यशको रावण भूमिकाको प्रशंसा गरेका छन्। यद्यपि, केही समीक्षकले फिल्मको लामो अवधि र कथाको भावनात्मक प्रस्तुतिबारे प्रश्न उठाएका छन्।
भारतमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो व्यापार गरिरहेको ‘रामायण’ले आगामी दिनमा एक हजार करोड भारुको विश्वव्यापी कमाइको आँकडा पार गर्ने अपेक्षा गरिएको छ। यसको दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने योजना रहेको छ।


