समानुभूतिको बोध नगरेकै कारण निश्चित जातका मानिस मात्र होइन, जीवजन्तु र सिंगो पृथ्वीलाई पनि संकटमा धकेलिएको छ ।
एउटा अत्याचारविरुद्ध यसरी श्वेत–अश्वेत सबैको स्वस्फूर्त मानव सागर उर्लेको मलाई थाहा थिएन । अहिले अमेरिकामा प्रदर्शन भएका छैनन्, ब्रिटेन, स्पेन, नाइजेरिया र विश्वभर प्रदर्शन भएका छन् । जर्ज फ्लोयडको हत्यामा त्यस्तो के छ, जसले विश्व हल्लायो ? सायद त्यो हो उनको वाक्यांश– ‘म सास फेर्न सकिरहेको छैन !’ श्वास–प्रश्वासजन्य महामारी कोरोना भाइरस त्रासका दौरान संरचनात्मक जातिवादको दमनको बिम्बका रूपमा आएको यो वाक्यांशले वास्तवमै निसासिएर प्रताडित भइरहेका पीडितहरूको अवस्था दर्साएको छ ।
अमेरिका र ब्रिटेनमा समेत थुप्रैपटक प्रहरीद्वारा अश्वेतहरू अनाहकमा मारिँदै आएका छन् । यसरी मारिनेको सूची लामो छ । जर्ज फ्लोयडलाई के गरियो, यो नयाँ होइन । एक दशकअघि प्रहरीद्वारा मारिएका इरिक गार्नरले पनि ‘मैले सास फेर्न सकेको छैन’ भनेका थिए । तर, यसपालि यसको विरोध विश्वव्यापी भयो । यो वाक्यांशले सार्थकता पायो । बुझेर पनि हामी बुझ पचाउँछौँ । मान्छेले जातिवाद बुझेका छन्, यो बुझ्न गाह्रो नै के छ र ? तर, तिनीहरू बुझेको–नबुझ्यै गर्छन् । सायद यस्तो अवस्थाले हाम्रो चेत खुलाउला । ‘म सास फेर्न सकिरहेको छैन’ले सधैँ भोगिआएको निस्सासिँदो परिवेशको चित्रण गर्छ । हामीले जातिवाद देख्दै आएको हो, यसले मानिसको अपहेलना गर्छ । तर, ‘म सास फेर्न सकिरहेको छैन’को अवस्थाले केवल स्वतन्त्रता, मानवीयता र सम्मान मात्र खोसिरहेको देखाउँदैन, यसले त भन्छ, ‘तिमीले त मैले फेर्ने सास पनि खोसिरहेका छौ ।’ छालाको रंगकै आधारमा मानिसले भोगिरहेको अमानवीय विभेद र चरम अत्याचार उजागर गर्न पनि नयाँ भाष्य आवश्यक थियो । ‘म सास फेर्न सकिरहेको छैन’ यस्तै अवस्था चित्रण गर्ने भाष्य हो । सेक्सपियरदेखि वाल्ट विटम्यान वा टोनी मोरिसन कसैले पनि जर्ज फ्लोयडले श्वासले भनेको ‘म सास फेर्न सकिरहेको छैन’जत्तिको सत्यको गाम्भीर्य दिन सकेका छैनन् । सायद यो वाक्यांश सबैखाले उत्पीडितले मन्त्रको रूपमा उच्चारण गर्नुपर्छ । विभेद र दमन भएका हरेक ठाउँमा भनिनुपर्छ ‘म सास फेर्न सक्दिनँ ।’
जर्ज फ्लोयडको घाँटी न्याक्ने प्रहरी अधिकृतले एउटाको ज्यान मात्र लिएको छैन, विश्वभर आगो झोसेको छ । विश्व अहिले कुनै भव्य सेलिब्रिटीको मृत्युले जागेको होइन, एउटा पृथ्वीकै नगण्य, दीनहीन, निहत्था र विपन्न व्यक्तिको अनाहकमा गरिएको हत्याले तातेको हो ।
जर्ज फ्लोयड भन्दै छन्, ‘म सास फेर्न सकिरहेको छैन’, तर प्रहरी अधिकृतले तिनलाई न्याँक्न छाड्दैन । यसको अर्थ त्यो मुलुकमा मानिसको जीवनको कुनै मूल्य छैन । विश्व नै यो श्वास–प्रश्वासको सकसबाट गुज्रेको छ । हामी जलवायु परिवर्तनले निम्त्याउने संकटलाई बेवास्ता गर्दै छौँ । करोडौँ महिला ‘सास फेर्नै’ नसकेर त्यसको विरोधमा विश्वभर ‘मि टु’ अभियान चलाइरहेका छन् । बोरिस जोन्सनले भर्खरै अक्सिजन नली नाकबाट घुसाएर जीवन–मरणको दोसाँधमा छट्पटिनुपरेको थियो । सायद तिनलाई थाहा होला– सास लिन नपाउँदा कत्तिको सकस पर्छ ? विश्वभर अहिले हामी सोध्दै छौँ, खासमा मानव हुनु भनेको के हो ?
यदि कोही रंगभेद छैन वा केही पनि होइन भन्छ भने ऊ झुटो बोलिरहेको छ, हाम्रो कुरा अस्वीकार गर्दै छ । इतिहासले रंगभेद हटाएको छैन । नपत्याए दासता, औपनिवेशीकरण र नरसंहारको इतिहास हेरे हुन्छ । शिक्षाले रंगभेद हटाएको छैन, नत्र सोक्रेटसको मृत्युसँगै रंगभेदबाट मारिएकाहरू पनि पाठ्यक्रममा हुन्थे । कला–संकृति सबैको उस्तै हो । कलाको इतिहासमा जिम्बावेको पुरातन ढुंगाका मूर्तिहरू र बेन इन्वन्वोका चित्रकलाहरू पाठ्यक्रममा समावेश गरिन्थे ।
समस्या छालाको रंगमा छ, हामी जानकार छौँ, रंगभेद के हो । यो एक जातिलाई सर्वोच्च बनाउँदै अर्कोलाई दबाइरहने प्रपञ्च हो । जातीय संहारको शृंखला यहीँबाट सुरु भएको छ । हामी अनजानमा कुनै विभेदलाई सामान्य लिइदिन्छौँ, तर यसले बिस्तारै विभेदको पहाड खडा गरिदिन्छ र निश्चित जातलाई सदाका लागि पाखा लगाइदिन्छ ।
जातिवादी विभेद मानिसले खडा गरेको मानिसकै समस्या हो । यसको समाधान पनि मान्छेले नै गर्न सक्छ । तर, यसका लागि सबैले इतिहासदेखिकै विभेदको भोगाइलाई आत्मसात् गर्न सक्नुपर्छ, महसुस गर्न सक्नुपर्छ । जातिवाद रकेट विज्ञानजस्तो जटिल विषय होइन, मानवताको क्षय वा संकट हो । यो मान्छेको कमजोरी हो, असफलता हो । समानुभूति बोध गर्न नसक्नुले समस्या सिर्जेको छ, संसार ध्वस्त बनाउँदै छ । समानुभूतिको बोध नगरेकै कारण निश्चित जातका मानिस मात्र होइन, जीवजन्तु र सिंगो पृथ्वीलाई पनि संकटमा धकेलिएको छ ।
जर्ज फ्लोयडको घाँटी न्याक्ने प्रहरी अधिकृतले एउटाको ज्यान मात्र लिएको छैन, विश्वभर आगो झोसेको छ । विश्व अहिले कुनै भव्य सेलिब्रिटीको मृत्युले जागेको होइन, एउटा पृथ्वीकै नगण्य, दीनहीन, निहत्था र विपन्न व्यक्तिको अनाहकमा गरिएको हत्याले तातेको हो । के गर्नुपर्छ, हामीलाई थाहा छ । हामीले अवचेतनमा रहेको जातिवादलाई धुजा–धुजा पारेर च्यात्नुपर्छ, सबैको मानवअधिकारका लागि लड्नुपर्छ, कानुनअन्तर्गत स्वतन्त्र र सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जिनुपर्छ । परिवर्तनका लागि यो ठूलो मौकाको क्षण हो । ‘म सास फेर्न सक्दिनँ’ भन्ने वाक्यांशले सबैलाई सास लिन सक्ने वातावरण सिर्जना गर्न सकोस् ! (बेन ओक्री प्रसिद्ध नाइजेरियन कवि तथा उपन्यासकार हुंन्)
द गार्जियनबाट


