– नारायण अधिकारी
चितवन, ४ चैत
चैत ९ गतेदेखि शुरू गर्न लागिएको राष्ट्रिय गैंडा गणनाको तयारी तीव्र पारिएको छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरू गरिँदैछ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरू गरिने छ ।
गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । गैंडा रहेका अन्य २ राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरू गरिँदैछ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ । गणनामा ४० वटा हात्ती प्रयोग गरिँदैछ । २ निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ ।
कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ ।
बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइँदैछ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिने छन् । गणनामा खटिनेका लागि चैत ६ र ७ गते सौराहामा तालिम दिइँदैछ ।
बरालले भने, ‘गणनामा ध्यान दिनुपर्ने विषयमा छलफलसँगै तालिम दिइने छ ।’ गणनाका समयमा आवश्यक पर्ने सामग्री खरिद, फारम छपाइको काम यतिबेला भइरहेको उनले जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरूको बासस्थानको व्यवस्थापन लगायतका तयारी भइरहेको छ । निकुञ्जको गणना गर्नुपर्ने क्षेत्रको अध्ययन भइरहेको उनले जानकारी दिए ।
लामिछानेले भने, ‘हामी अन्तिम तयारीमा छौं ।’ यहाँका २ निकुञ्जमा गैंडा गणना गर्न २० दिन हाराहारी लाग्ने उनले बताए ।
गैंडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुँदैछ । विभागका २ कर्मचारी तयारीका लागि यहाँ आइसकेका छन् । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाको उद्घाटन वन तथा वातावरणमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ ।
सौराहामा कार्यक्रमको उद्घाटन गरेर प्रतापपुरबाट गणना थाल्ने वा प्रतापपुरमा नै उद्घाटन गर्ने भन्ने विषयको टुंगो भने लागिनसकेको उनले बताए । १–२ दिनमा नै विभागको उच्चस्तरको टोलीसमेत गणना तयारीका लागि चितवन आउँदैछ ।
आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैंडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि गैंडा गणना गर्ने भनिए पनि कोरोना संक्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । २ वर्षअघि गैंडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भर पर्दा बजेट अभावमा गणना हुनसकेको थिएन ।
सरकारले गत वर्ष गैंडा गणनाका लागि १ करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले ८० लाख विनियोजन गरेको छ । दाताबाट २५ लाख रुपैयाँ हाराहारी सहयोग हुने उनले जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाल लगायतका संघसंस्थाको सहयोगमा गैंडा गणना गरिँदैछ ।


