२१ माघ, काठमाडौं ।
आइसिसी विश्वकप क्रिकेट लिग दुई माघ २२ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने भएको छ । उक्त प्रतियोगितामा ओमन र अमेरिकाले सहभागिता जनाउने छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै प्रतियोगिताको उद्घघाटन गर्ने भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग दुई का लागि खेलाडी नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घघाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा जम्मा ६ खेल हुनेछन् । खेलमा नेपाल, ओमान र अमेरिका बिच हुने त्रिकोणात्मक सिरिजका लागी ओमन र अमेरिका दुबै देशका खेलाडीहरु नेपाल आइसकेका छन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् ।
त्यस्तै लिग दुईमा नेपालबाहेक अन्य राष्ट स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिकाले आफ्नो पहिलो खेल खेलिसकेका छन् ।
नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते र तेस्रो खेलमा ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।
अहिलेसम्म आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारी शीर्ष स्थानमा रहेको छ । भने स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थान र आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा रहेका छन् ।


