काठमाण्डौ । पल्सर स्पोर्ट्स अवार्डको १७ औ संस्करण आगामी पुस २८ गते हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठुलो उक्त अवार्ड समारोह ललितपुर स्थित कराते एकेडेमीको हलमा पुस २८ गते हुने निश्चित भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड प्रत्येक वर्षको सुरुवातमै हुदै आएता पनि यो वर्ष भने कोरोना महामारीका कारणले गर्दा केहि ढिला हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखीमका कारण अवार्ड सेमि भर्चुअल माध्यमबाट हुने तय भएको नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको छ ।
घोषणा कार्यक्रममा आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी बिच मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीले अवार्डका लागि मञ्चलाई ४ वटा बजाज पल्सर एनएक्स मोटरसाइकल र अन्य विभिन्न उपहारहरु तथा नगदसहित २८ लाख ४० हजार ६ सय रुपैयाँ उपलब्ध गराउनेछ ।
अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल च्वाइस विजेताले एक थान पल्सर मोटरसाइकल र उपहारहरु पाउनेछन् । त्यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभ्मेन्ट विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


