Banijya News

पेट्रोलियम पदार्थको अन्बेषणात्मकको काम शुरु

1
1.1K Shares

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (बेल) कार्यको उद्घाटन गरिएको छ ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी पेट्रोलियम पदार्थको अन्बेषणात्मक (बेल) ड्रिलिङ कार्यको उद्घाटन गरेका हुन् । यो परियोजना सफल भएको खण्डमा कर्णालीबाट इन्धन समृद्धिको यात्रा सुरु हुने भन्दै मन्त्री भण्डारीले मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने बाचा गरेका छन् । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङको काम सुरु भएपछि अब छिट्टै पेट्रोलियम पदार्थ उत्खनन हुने अपेक्षा सरकारको छ । अबको चार महिनाभित्र काम सम्पन्न हुनेगरी मुख्य ड्रिलिङको काम सुरु हुने अनुमान गरिएको छ ।

खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका लागि आवश्यक उपकरण जडान गरिसकेपछि मुख्य ड्रिलिङको काम सुरु भएको बताए । उनले मुख्य ड्रिलिङको काम सुरु भएको चार महिनाभित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको र यही कामको लागि अहिलेसम्म १७५ वटा ट्रकहरू दैलेख पुगेको विभागको दाबी छ । केही उपकरण अझै थपिदैछन् ।
तत्कालीन समयमा भारतले लगाएको नाकाबन्दीका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको परियोजना हो बेल । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबिच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । परियोजनाले मुख्य ड्रिलिङको काम सक्नेबित्तिकै पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्ने र थप अन्वेषण तथा उत्खननका कामहरू हुने छन् । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेगरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको छ ।

पादुकादेखि श्रीस्थान सम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको प्राविधिक रिपोर्टले देखाएकाले कति गहिराइमा छ ? र कुन–कुन ठाउँमा छ ? भन्ने कुरा अब अध्ययनरत ड्रिलिङको कामबाट एकिन हुनेछ । हाल परियोजना स्थलमा २१ चिनियाँ प्राविधिकसहित झण्डै ५० जना नेपाली सहयोगीहरूले २४सै घण्टा अन्वेषणको काम गरिरहेका छन् ।

२०७६ बाट सुरु भएको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाको अवधि २०८१ चैत १६ सम्मका लागि थपिएको छ । दुई वर्षअघि थपिएको १४ चैत २०८० सम्मको म्यादमा पनि काम सम्पन्न नभएपछि मन्त्रिपरिषद्ले एक वर्षको समायावधि थप गरेको हो । चिनियाँ पक्षसँग सम्झौता हुँँदा ड्रिलिङका लागि ११ देखि १८ महिना लाग्ने उल्लेख भएकाले एक वर्षका लागि कामको म्याद थपिएको जनाइएको छ । ड्रिलिङ सुरु भएको ढिलोमा पाँचदेखि ६ महिनामा काम सम्पन्न हुने बताइएको छ । यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । सोहीअनुसार अन्वेषणको काम सुरु गरिएको थियो । तर, कोरोना महामारी लगायतका विभिन्न कारणले परियोजना कार्यान्वयनमा भएको ढिलाइले लागत बजेटसमेत बढेको चिनियाँ पक्षले जानकारी दिएको छ ।

परियोजना कार्यान्वयनका लागि नेपालका तर्फबाट खानी तथा भूगर्भ विभागले गठन गरेको ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’का प्रमुख दिनेशकुमार नापितका अनुसार नेपालका तर्फबाट भने जमिन अधिग्रहणका लागि आवश्यक मुआब्जा वितरण गर्न करिब एक करोड रुपैयाँ खर्च भएको छ । यसअघि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । यो परियोजना सफल भए देशको अर्थिक समृद्धिको ढोका खुल्नेछ ।

1

Scroll to Top