Banijya News

मनकामनाको दोस्रो केबलकारमा एक अर्ब ६० करोड लगानी गरिँदै

1
1.1K Shares

पोखराको पुम्दिकोटमा नयाँ केबलकार सञ्चालनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। चितवनको कोइ ग्रुप र अग्नि ग्रुपको संयुक्त लगानीमा ‘पुम्दिकोट महादेव केबलकार’ परियोजना सञ्चालनमा ल्याइने भएको हो। कुल १ अर्ब ६० करोड ४० लाख रुपैयाँको लगानीमा निर्माण हुने केबलकारको पूर्वाधारका लागि अहिले जग्गा प्राप्ति प्रक्रिया चलिरहेको पुम्दिकोट महादेव केबलकार कम्पनीले जानकारी दिएको छ।

लगानी संरचना अनुसार, परियोजनामा ८० प्रतिशत बैंक ऋण र २० प्रतिशत स्वपुँजी रहनेछ। कुल १.१ किलोमिटर लम्बाइको केबलकारको लागत प्रतिकिलोमिटर हिसाबमा करिब १ अर्ब ४५ करोड पर्ने अनुमान गरिएको छ। परियोजनाको निर्माण कार्य आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ, जसअनुसार सन् २०२६ को जुलाईसम्म सञ्चालनमा ल्याउने तयारी छ।

निर्माण कार्य समयमै सम्पन्न नभए ब्याज र लागत वृद्धिका कारण कम्पनीको वित्तीय स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ। परियोजना सञ्चालनपछि ऋण तिर्न करिब ११ वर्ष लाग्ने अनुमान गरिएको छ।

पुम्दिकोट महादेव केबलकार सन् २०२३ मा स्थापना गरिएको कम्पनी हो। पोखरा महानगरपालिका अन्तर्गतको रमणीय पुम्दिकोट क्षेत्रलाई लक्ष्य गरेर निर्माण गरिँदैछ, जहाँ अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यसँगै पहाडको शिखरमा स्थापना गरिएको विशाल महादेवको मूर्ति प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। परियोजनाबाट धार्मिक पर्यटनसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप पनि बढ्ने विश्वास गरिएको छ।

केबलकार निर्माणमा कोइ ग्रुपका सञ्चालक राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपका अर्जुनप्रसाद शर्मा नेतृत्वदायी भूमिकामा रहेका छन्। कोइ ग्रुपले सन् १९९८ देखि नेपालको पहिलो मनकामना केबलकार सञ्चालन गर्दै आएको अनुभव पनि यस परियोजनामा उपयोग हुँदैछ। समूहले हालै १ अर्ब २८ करोड ४० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ।

हाल देशभर मनकामना, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी र कालिञ्चोकमा केबलकार सञ्चालनमा छन्। पछिल्लो समय रिसोर्टसहितको केबलकार परियोजना निर्माणको लहर चलेको देखिन्छ, जसले धार्मिक, पर्यटकीय र आर्थिक दृष्टिले नयाँ सम्भावनाहरू उधिनेको छ।

1

Scroll to Top