११ फागुन, काठमाण्डौ
सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङख्यामा वृद्धि भएको छ । तीन सय ४ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटमा भ्रमण वर्ष सुरु भए संगै हालसम्म जम्मा चार सय १९ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।
निकुञ्जमा चार सय एक जना नेपाली, सार्क क्षेत्र भित्रबाट ६ जना र अन्य विदेशी मुलुकबाट १२ जना गरी जम्मा ४ सय १९ जना पर्यटकले अवलोकन गरेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । त्यस्तै, नेपालको पश्चिमी नाका गड्डाचौकीबाट जनवरी महिनामा विभिन्न देशका जम्मा २ सय २४ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय कञ्चनपुरले जनाएको छ । जसमा सबैभन्दा बढी अमेरिका र रसियन नागरिक रहेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको छ । योसँगै दोधाराको झोलुङ्गेपुल, वेदकोट ताल, वेदकोटको लिङ्ग क्षेत्र, झिलमिला ताल यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । निकुञ्जभित्र ५३ प्रजातिका वन्यजन्तु, २४ प्रजातिका माछाहरू, ३५ प्रजातिका पुतलीहरू, ४ सय २४ प्रजातिका चराहरू, सात सय प्रजातिका रुख बिरुवा, १२ प्रजातिका घर्षने वन्यजन्तु, तराईको सबैभन्दा ठूलो क्षेत्र फैलिएको ५४ वर्ग किलोमिटर घाँसे मैदान, विश्वकै सबैभन्दा ठूलो २ हजार ३ सय ४६ बाह्रसिङ्गाको झुण्ड, र ५६ प्रजाति स्तनधारी जनावर रहेका छन् ।
यसैबिच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्र्घन गर्ने उदेश्यले भिमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा शुक्रबारदेखि १९ गतेसम्म तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ ।
महोत्सवको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच कञ्चनपुर क्षेत्र नम्बर ३ ‘ख’ का प्रदेश सांसद मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गरे ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित मेलामा करिब पाँच हजार पर्यटकले अवलोकन गर्ने र करिब साढे सात करोडको कारोबार गर्ने अनुमान गरेको छ । मेलामा भीमदत्त नगरपालिकाले पाँच लाख र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई लाख ५० हजार लगानी गर्ने बताएको छ ।
शुक्लाफाँटा राष्ट्रिय अध्यागमन अनुसार पर्यटकीय पूर्वाधारको अभाव तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार नहुँदा चाँदनीदोधारा झोलुंगे पुल, रामारोसन, खप्तड, बडिमालिका लगायत क्षेत्र ओझेलमा पर्ने गरेको छ । जसको कारण पश्चिमी नाकाबाट भित्रिने पर्यटकको सङख्यामा कमि देखिएको पर्यटन व्यावसायीको भनाई रहेको छ । नाकामा पर्यटनमैत्री वातावरण सृजना गर्न, सम्भावित पर्यटकीय स्थलको प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिनसके यस क्षेत्रमा पर्यटक भित्र्याउन सकिनेछ ।


