Banijya News

कोरोना संक्रमणका कारण यार्सागुम्बा टिप्न प्रतिबन्ध

1
1.1K Shares

बैंशाख १३, मनाङ ।
हिमाती जिल्ला मनाङ भन्ने वित्तिकै यार्सगुम्बाको ब्यापार अग्रस्थानमा आउँछ । मनाङमा यार्सागुम्बा टिप्न लमजुङ, गोरखा, धादिङ, रोल्पा, डोल्पा लगायतका जिल्लाबाट मानिसहरु वर्षेनी जाने गर्दछन् ।


सिजनमा विभिन्न लेक तथा खर्कमा यार्सा खोज्नेका ५ हजार भन्दा बढीको भीड हुने गर्छ । भिड बढने भएपछि हिमाली जिल्ला मनाङमा यसवर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार कोरोना संक्रमण रोकथाम गर्न यसवर्षलाई मनाङका सबै लेकमा यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाएको छ । उनका अनुसार शनिबार सांसद गुरुङको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, गाउँपालिकाहरुका अध्यक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत सरोकारवाला निकायका प्रमुख सम्मिलित बैठकले मनाङमा यसवर्ष यार्सागुम्बा टिप्ने कार्यमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।


यसले मनाङमा बस्दै आएका श्रमिक तथा स्थानीयको आर्थिक व्यवस्थापनमा ठूलो धक्का पुग्नेछ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा फैलिन नदिन सरोकारवाला निकाय यार्सागुम्बा टिप्ने कार्यमा प्रतिबन्ध लगाउन एकमत भएका छन् ।

प्रतिबन्ध लगाएपनि चोरी डकैती हुन सक्ने भन्दै प्रहरी, स्थानीय तहका जनप्रतिनिधि र एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीले यार्सागुम्बा संकलन क्षेत्रमा स्थलगत निगरानी गर्ने भएको छ ।


मनाङमा साविक १३ गाविसमध्ये नासों गाउँपालिकामा पर्ने साविक थोंचे र धारापानी गाविसको लेक बाहेक सबै ठाउँका लेकमा यार्सागुम्बा पाइन्छ । नासो गाउँपालिकाको खर्क, नाम्के लेक, डाँफे चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्यामलगायतका खर्कमा यार्सा पाइन्छ । एक्यापको संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा टिप्नेलाई पुर्जी दिने गर्छ ।

यार्सागुम्बाको पुर्जी दिनको लागि समितिले ठेक्का समेत आह्वान गर्छ । यार्सागुम्बा खोज्न हरेक बर्ष धादिङ, गोरखा, लमजुङ लगायत जिल्लाबाट संकलकहरु आउने गर्छन् । पुर्जी बाहेक व्यापारीलाई छोडपुर्जी बापत १ किलो बराबर १० हजार रुपैयाँ रोयल्टी लिने गरिन्छ । स्थानीय तहले निकाशी करबापत प्रतिकिलो १० हजार रुपैयाँ लिने गरेको छ । व्यवसायीले सरकारलाई प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ । गतवर्ष ८५ दशमलब १ किलोग्राम यार्सागुम्बाको छोडपुर्जी दिइएको थियो ।

1

Scroll to Top