टोकियो ।जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहेको बताएका छन् । यसअघि जापान सरकारले मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो । तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्याउने योजना प्रधानमन्त्री सिन्जो आबेले बनाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
जापानको टोकियो सहितका सात प्रान्तमा एक महिना अघि लामो आपतकाल घोषणा गरिएको थियो । सो महिनादिन लामो आपतकाल यही मे ६ तारिखमा सकिन लागेको हो ।
यसैगरी यसअघि आपतकालको घोषणा गर्दा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले पारेको आर्थिक प्रभावबाट बच्न प्रोत्साहनस्वरुप ठूलो आर्थिक प्याकेजको घोषणासमेत गरिएको थियो।
जापानी प्रधानमन्त्री आबेसँग आइतबार जापानको मन्त्रिपरिषदका प्रमुख सचिव, यहाँका स्वास्थ्यमन्त्री र आर्थिक विकाससम्बन्धी मन्त्रीले भेटवार्ता गरी यस विषयमा परामर्श गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री र उनीहरुबीच आगामी बढीमा महिना दिनसम्मका लागि पुनः आपतकालको अवधि लम्ब्याउने विषयमा कुराकानी भएको बुझिएको यहाँका सञ्चारमाध्यमहरुले दिएका छन् ।
समाचारअनुसार प्रधानमन्त्री आबेले सोमबार साँझसम्म पत्रकार सम्मेलन गरेर यस आपतकालको अवधि बढाउने विषयमा जानकारी गराउने बताइएको छ ।
सोमबार जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको देखिएको छ। सोमबार प्राप्त समाचारमा जापानमा यस भाइरसबाट संक्रमितको संख्या १५ हजार पुगेको देखिएको छ।
यी संक्रमितहरुमध्ये जापानाको राजधानी टोकियोमा मात्र ४ हजार ६०० जना रहेका छन्। यस संक्रमणका कारण यहाँ ५०० भन्दा बढीको ज्यान गएको छ।
अधिकारीहरुले यसैकारण जापानमा आपतकालको अवधि थप गरिएको विषयमा घोषणा गर्न लागिएको बताएका छन् । यस अघि पनि अघिल्लो महिनामात्र जापानमा भाइरसको नयाँ संक्रमित देखिने क्रम बढेकाले उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनीसँगै जापानले आपतकाल घोषणा गर्ने निर्णय गरेको थियो ।


