भारतीय संचारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित समाचारको विषयलाई लिएर सेनाले आपत्ति जनाएको हो ।
बिहीबार राति विज्ञप्ति जारी गर्दै नेपाली सेनाले हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित समाचारले दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित रहेको भन्दै नेपालमा विभाजन ल्याउने कुत्सित मनसायले आएको अफवाहमा विश्वास नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ ।
हिन्दुस्तानटाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्क, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार दिएको थियो । दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित देखिन्छन् ।
साथै विज्ञप्तीमा नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जनाइएको छ ।


