Banijya News

वैदेशिक सहायता प्राप्तिमा १५.४ प्रतिशतले गिरावट, कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतले वृद्धि

1
1.0K Shares

नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायतामा गिरावट आएको छ । अर्थ मन्त्रालयले बुधबार ‘आर्थिक सर्वेक्षण २०८२/८३’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक सहायता प्राप्तिमा १५.४ प्रतिशतले गिरावट आएको जनाएको हो ।

“चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक अनुदान ६ अर्ब ३४ करोड रुपैयाँ र वैदेशिक ऋण ५६ अर्ब ८० करोड रुपैयाँ गरी कुल वैदेशिक सहायता प्राप्ति ६३ अर्ब १४ करोड रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४ प्रतिशतले न्यून हो,” आर्थिक सर्वेक्षणमा भनिएको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक सहायता प्राप्ति १३.८ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक सहायता १४.१ प्रतिशतले वृद्धि भई एक खर्ब ५६ अर्ब ६० करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा संघीय सञ्चित कोषमा प्राप्त वैदेशिक अनुदान २९ अर्ब ६५ करोड रुपैयाँ र वैदेशिक ऋण एक खर्ब २६ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन घट्ने अनुमान गरिएको छ । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा प्रतिव्यक्ति आय घटेर एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान उल्लेख गरेका छन् ।

“चालु आर्थिक वर्ष अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन हुने अनुमानको आधारमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन घटेर एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान छ,” भनिएको छ, “गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१६ अमेरिकी डलर रहेको थियो ।”

यसरी हेर्दा गत आवको तुलनामा चालु आवमा प्रतिव्यक्ति आय तीन डलरले घटेको छ । आर्थिक क्रियाकलापमा आएको शिथिलता, न्यून आर्थिक वृद्धि लगायतका कारणले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर न्यून रहेको जनाइएको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) दुई लाख ६ हजार ६२५ रुपैयाँ थियो । चालु आर्थिक वर्ष ५.५ प्रतिशतले वृद्धि भई दुई लाख १७ हजार ९४६ पुग्ने अनुमान रहने उल्लेख छ ।

पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ८.८ प्रतिशत रहेको छ ।

1

Scroll to Top