सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको वन क्षेत्रको विस्तार सन्तोषजनक देखिएको छ । सर्वेक्षणले नेपालको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको देखाएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म वन क्षेत्रबाट १ अर्ब ८९ करोड राजस्व संकलन भएको बताइएको छ । सरकारको आर्थिक सर्वेक्षणअनुसार, वन क्षेत्रका विभिन्न क्रियाकलापबाट आर्थिक वर्ष २०८१/८२ मा ४१ लाख श्रमदिन रोजगारी सिर्जना भएको थियो भने चालु आर्थिक वर्षको फागुनसम्म १९ लाख १५ हजार ३१८ कार्यदिन रोजगारी सिर्जना भएको छ ।
सर्वेक्षण अनुसार, नेपालको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ, जसमध्ये कुल भू–भागको ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत क्षेत्र झाडी तथा बुट्यानले ढाकेको छ । नेपालको कुल भू–भागको २३.४ प्रतिशत (३४,४२० वर्ग कि.मी.) क्षेत्र संरक्षित क्षेत्रका रूपमा रहेको छ ।
देशभर ११ वन संरक्षण क्षेत्रअन्तर्गत १ लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २०८२ फागुन मसान्तसम्ममा २३,१६२ सामुदायिक वन उपभोक्ता समूह र ३३ साझेदारी वन उपभोक्ता समूहले वन क्षेत्रको व्यवस्थापन गरिरहेका छन् ।
अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा निजि र राष्ट्रिय वन गरी कुल ३ करोड ९९ लाख ८५ हजार क्यूविक फिट गोलिया काठ उत्पादन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ५८ हजार ६११ चट्टा दाउरा उत्पादन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म २३ हजार २७९ चट्टा दाउरा उत्पादन भएको छ ।
यसैगरी, नेपालले कार्बन व्यापारबाट राजस्व प्राप्त गर्न सुरु गरेको छ । २०८२ फागुनसम्म करिब ३.६ करोड अमेरिकी डलर कार्बन व्यापारबाट राजस्व प्राप्त भएको छ । साथै, रेड कार्यक्रममार्फत कार्बन उत्सर्जन कटौती गरी वन विकास कोषमा ९४ लाख अमेरिकी डलर प्राप्त भएको छ ।


