लकडाउनका कारण मुलुकको व्यापार घाटामा उल्लेख्य कमी आएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको वित्तीय स्थितिअनुसार मुलुकको व्यापार घाटा १४ दशमलव २ प्रतिशतले घटेर ९ खर्ब ४३ अर्ब ७ करोड रुपियाँ भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १९ दशमलव ७ प्रतिशत थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव ७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ को दश महिनामा कुल वस्तु निर्यात ४ दशमलव ५ प्रतिशतले वृद्धि भई ८२ अर्ब ६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १६ दशमलव १ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ३८ दशमलव ६ प्रतिशत र १४ दशमलव ६ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, कागज तथा नेपाली कागजका वस्तु, प्लाष्टिकका भाँडा, पाइप, लगायतका वस्तुको निर्यात बढेको छ । सरकारको राजस्व परिचालन, खर्च, विप्रेषण आप्रवाह र कर्जा लगानी लगायतका आर्थिक क्रियाकलापमा कोभिड–१९ संक्रमणको नकारात्मक असर परेको राष्ट्र बैंकले जनाएकाे छ।


