काठमाडौंको सितापाइलामा युवतीलाई तेजाब छ्यापेर भाग्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार साँझ उनीहरुले नागार्जुन नगरपालिका(४, सिर्जनशील टोलमा ओखलढुङ्गा घर भएकी २२ वर्षीय युवतीलाई एसिड छ्यापेर भागेका थिए ।
दही किन्न डेराबाट निस्केकी युबतीलाई एसिड हानेर भागेका उनीहरुलाई रातीनै प्रहरीले नियन्त्रणमा लिएको हो । भारत घर भएका मुन्ना मोहम्मद र रौतहटका मोहम्मद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
मोहम्मदलाई युवतीले चिन्ने भएकाले उनी अलि परै बसेका थिए । एसिड छ्यापेपछि मोटरसाइकलमा दुवै डल्लुतर्फ भागेका थिए । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको हो । युवतीलाई बाथरुम सफा गर्ने एसिड प्रहार गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।
सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा डल्लुमा डेरागरी बस्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मोहम्मद र ती युवतीको एक क्यासिनोमा काम गर्दा चिनजान भएको थियो । मोहम्मदले ती युवती मन पराएको तर, युवतीले अर्कै केटा मन पराएको थाहा पाएपछि एसिड हानेको प्रहरीलाई बताएका छन् । मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड छ्यापेको बताएको एक प्रहरीले बताएका छन् ।
कसरी भएको थियो घटना ?
‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।
‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् । केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए ।
आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए । मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए । केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । एसिड ती युवतीको गाला र निधारमा लाग्यो । आगोले पोले जसरी पीडा हुन थालेपछि युवती चिच्याउँदै छटपटिन थालिन् ।
काठमााडौंमा कहिले, कस्ता भए एसिडका घटना
अधिकांस एसिडका घटना मायाप्रेम अस्वीकार गर्दा र कतिपयमा आपसी झगडाका कारण हुने गरेको पाइएको छ । यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो ।
त्यसअघि २०७६ जेठ २ गते राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । ६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि एसिड प्रहार गरेका थिए । उनी भागेर भारतमा लुक्दै आएका थिए । २०७१ चैतमा एसिड हान्ने विकलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।


