श्रावण ११, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले साउन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने योजना बनाएको छ । यसमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार कित्ता पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०५ ब्याजदर पाइनेछ । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ८ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ । यो ऋणपत्रमा छिटोमा साउन २३ गते सम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । लगानीकर्ताहरुले यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।


