श्रावण १२, काठमाडौं ।
जनता समाजवादी पार्टीले सरिता गिरीको स्थानमा लीलादेवी सिटौलालाइ प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धतिअन्तर्गत निर्वाचित गर्नुपर्ने खसआर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको हो ।
नेतृ सरिता गिरीले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले पार्टीबाट निष्काशन गरेको थियो । सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नयाँ नक्सा जारि गरेको थियो । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । गिरीले त्यसमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।
जनता समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो। तर, उनले फिर्ता लिन अस्वीकार गरेकी थिइन् । त्यसपछि जनता समाजवादी पार्टीले कारबाही गरेको थियो । त्यसका विरुद्ध गिरी सर्वोच्च अदालत पुगेकी थिइन् ।
सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आज उनको ठाउँमा सिटौलालाई सांसद चयन भएको घोषणा गरिएको हो । सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए ।


