काठमाडौं । नेपाल प्रहरीका डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्का सोमबारको बैठकले गृह मन्त्रालयको सिफारिसको आधारमा उनीहरुको बढुवा गर्ने निर्णय गरेको हो । गत ३१ असारमा नेपाल प्रहरीको रिक्त रहेको अतिरिक्त महानिरीक्षक एआईजी उनीहरुको बढुवा सिफारिस गरेको थियो । बढुवा भएका शाही पहिलो नम्बर र कार्की दोस्रो नम्बरमा रहेका छन् ।
बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त गरेको छ । यसअघि कार्यकारी निर्देशकमा सुरेश कार्की रहेको भएपनि उनलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको निहुँमा हटाइएको थियो । अन्तर्वार्तामा बाबुरामले ओलीको आलोचना गर्दा कार्कीलाई स्पष्टीकरण सोधिएको थियो भने पछि हटाइएको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा फेरी रमेश कुमार सिलवाल नियुक्त गरेको छ ।


