Banijya News

मलेसिया स्वास्थ्य परीक्षण प्रकरण : हराएको फाइलले खोल्यो पुरानो निर्णयको रहस्य, सभामुखलाई हाइसन्चो

1
1.0K Shares

मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गरी करोडौँ रुपैयाँ विदेश पठाइएको विवादास्पद प्रकरणले नयाँ मोड लिएको छ। लामो समयदेखि हराएको भनिएको श्रम मन्त्रालयको सक्कल सरकारी फाइल फेला परेपछि अनुसन्धानको दिशा नै परिवर्तन भएको छ। फाइलमा तत्कालीन श्रममन्त्री रामेश्वरराय यादव र तत्कालीन श्रमसचिव एकनारायण अर्यालको हस्ताक्षर भेटिएसँगै उनीहरूको भूमिकामाथि अनुसन्धान केन्द्रित भएको हो ।

नेपाली श्रमिकलाई मलेसिया रोजगारीमा पठाउने प्रक्रियामा स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम उठाइएको विषय सामान्य आर्थिक अनियमिततामा मात्र सीमित नरहेको अनुसन्धानले देखाएको छ। सरकारी निर्णय, प्रशासनिक प्रक्रिया र निजी कम्पनीको संलग्नतासमेत जोडिएको यस प्रकरणले वैदेशिक रोजगारी क्षेत्रमा राज्यको नियमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

फेला परेको सरकारी फाइलअनुसार तत्कालीन श्रममन्त्री यादवले आर्थिक वर्ष २०७६÷७७ को अवधिमा तीनपटक मलेसियामा रकम पठाउने निर्णय गरेका थिए। त्यसबेला श्रमसचिवको जिम्मेवारीमा अर्याल आइसकेका थिएनन्। यसले रकम विदेश पठाउने प्रक्रिया सुरु गर्ने निर्णयमा यादवको भूमिका रहेको देखाएको अनुसन्धान स्रोतको दाबी छ।

त्यसपछि श्रमसचिव बनेका अर्यालको कार्यकालमा पनि रकम पठाउने निर्णय प्रक्रिया निरन्तर अघि बढेको अनुसन्धानमा खुलेको छ। उनी २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रमसचिव थिए। यही अवधिमा श्रमिकबाट संकलित रकम मलेसिया पठाउन मन्त्रालयबाट भएका निर्णयमा उनको हस्ताक्षर भेटिएको बताइएको छ।

यसैबीच अनुसन्धानले सार्वजनिक गरेको अर्को महत्त्वपूर्ण तथ्यले प्रकरणको आर्थिक आकार झन् ठूलो देखाएको छ। सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार ७ लाख ५० हजार ९८८ जना नेपाली श्रमिकबाट अतिरिक्त शुल्क उठाइएको थियो। यसरी संकलित रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँभन्दा बढी मलेसिया पठाइएको खुलेको छ। उक्त रकम १७ पटक टेलिग्राफिक ट्रान्सफर (टीटी) मार्फत विदेश पठाइएको अनुसन्धानमा उल्लेख छ।

श्रमिकबाट उठाइएको रकम माइक्रोटेक कम्पनीमार्फत मलेसियास्थित बेस्टिनेट कम्पनीको खातामा पठाइएको बताइएको छ। यस प्रक्रियामा काठमाडौंका ३६ वटा स्वास्थ्य संस्थाको सञ्जाल प्रयोग भएको अनुसन्धानको निष्कर्ष छ। यसले स्वास्थ्य परीक्षणको नाममा सीमित संस्थामार्फत रकम संकलन गर्ने प्रणाली विकास गरिएको आशंका बलियो बनाएको छ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको श्रम सम्झौताले स्वास्थ्य परीक्षणको खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था गरेको थियो। तर, व्यवहारमा नेपाली श्रमिकबाट प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट अतिरिक्त रकम उठाइएको आरोप छ। वैदेशिक रोजगारीमा जान ऋण खोज्नुपर्ने अवस्थाका श्रमिकमाथि यस्तो आर्थिक भार थपिनु गम्भीर विषय बनेको छ।

यस प्रकरणमा पूर्वमन्त्री शेरबहादुर कुँवर, रामेश्वरराय यादव र पूर्वमुख्यसचिव अर्यालसहित विभिन्न सरकारी अधिकारी तथा व्यवसायी अनुसन्धानको दायरामा छन्। फेला परेको फाइलमा कुँवर, डीपी अर्याल र शरदसिंह भण्डारीको हस्ताक्षर नदेखिए पनि उनीहरूको कार्यकालमा रकम विदेश पठाइएको तथ्यबारे छुट्टै अनुसन्धान आवश्यक देखिन्छ।

 

1

Scroll to Top