सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने यात्रुमा चेकजाँचका क्रममा ठूलो संख्यामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको भन्दै बिहीबारदेखि लागू हुने गरी रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गृहले गरेको हो ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक सेवा र ढुवानीबाहेक आजबाट लागू हुने गरी प्रत्येक दिन साँझ ७ बजेबाट बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।
उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला आवागमन पास नदिनका लागि निर्देशन जारी गरेको छ। पासबिना अन्तर जिल्ला आवागमन पूर्णरूपमा बन्द गराउन समेत निर्देशन दिएको छ। विज्ञप्तिमा नाकामा थप कडाइ गर्दै पूर्ण निगरानीका साथै चेकजाँचको व्यवस्था गर्न समेत निर्देशन गरिएको छ।


