श्रावण १६, काठमाडौं ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले लगाएको लकडाउन केहि खुकुलो भएसंगै साता दिनभित्रै तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ ।
वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै तेब्बर बढाएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बाढीपहिरोको बहानामा हरियो तरकारीको मूल्य तेब्बर बढाएर आर्थिक शोषण गरेको उपभोक्ताको गुनासो रहेको छ ।
व्यापारीले विभिन्न बहानामा साता दिनभित्रै तरकारीको मूल्य तेब्बरले वृद्धि गर्दा समेत सरकारी निकाय मौन देखिएका छन् । बजारमा व्यापारीले मनपरी गर्दा अनुगमन गरेर कारबाही गर्ने कानुनी अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय निकायलाई छ ।
तर, विभागले पनि प्रभावकारी रूपमा काम गरेको छैन ।
विभागले छिटफुट रूपमा कालीमाटी र बल्खु बजारमा अनुगमन गरे पनि व्यवसायीलाई कानुनी दायरामा ल्याउन सकेको छैन । साताअघि खुद्रा बजारमा प्रतिकिलो ३० देखि ४० रुपैयाँमा पाइने हरियो तरकारीको मूल्य ९० देखि १ सय २० रुपैयाँ पुग्दा समेत अनुगमनको जिम्मेवारीमा रहेका सरकारी निकायहरुको उपस्थिति नभएको भन्दै आमउपभोक्ताहरू आक्रोशित बनेका छन् ।


