मुलुकका पछिल्लो २४ घण्टामा मुलुकभर ६ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज २ सय १६ महिला र ४ सय ६५ जना पुरुषमा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै १ सय ५९ संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय २० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ६१ दशमलव २ प्रतिशत अर्थात १७ हजार ७ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । मुलुकभर सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म जम्मा ५ लाख ५४ हजार ३ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । मुलुकभर ७ हजार ८ सय ९७ आइसोलेसन र होम आइसोलेसनमा ३ हजार १ सय ३१ छन् । १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार, हालसम्म ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।


