लामो समयको अनुसन्धानपछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको छ । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।
नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए । अध्यक्ष पाण्डेले भने, ‘करिब डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौँ ।’ कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार पहिलो, ‘हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन् । त्यसैले सबै उमेरका व्यक्तिहरूलाई यो सुहाउँदो छ । यसमा सिजनिङ पाउडरसँगसँगै ड्राइ भेजिटेबलको प्याकेट हुन्छ ।
यसैगरी दोस्रो, ’हटपट’ टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाई स्पाइसी पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ । टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुईथरिकै ’हटपट’प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।
यसै आर्थिक वर्षभित्र थप नयाँ फ्लेभरमा हटपट सिरिजका अन्य उत्पादनहरू ल्याउने गरी काम भइरहेको कम्पनीले बताएको छ । यसरी विभिन्न स्वादका तयार भएपछि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए ।
कम्पनीले ’हटपट’ नुडल्स सिरिज सबै उत्पादनहरूको लागि पूर्वमिस नेपाल शृंखला खतिवडालाई अनुबन्ध गरेको छ । कम्पनीका उत्पादनहरू भविष्यमा नेपालबाहिर पनि निर्यात गर्ने योजना भएकाले खतिवडा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका नेपाली हुँदा राम्रो हुन्छ भन्ने लागेर उनलाई छानेको अध्यक्ष पाण्डेले बताए ।


