Banijya News

एसिड पीडित ३ युवतीले पाए बैँकमा स्थायी जागीर

1
1.1K Shares

११ असोज, काठमाण्डौ ।


एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले बैंकमा स्थायी जागीर पाएका छन्। विभिन्न समयमा एसिड पीडित बन्न पुगेका उनिहरुले कुमारी बैँकमा रोजगारी पाएक हुन् ।
मार्केटिङ अफिसरका रुपमा नियुक्त गरीएक एसिडपीडित युवती तिनजनामध्ये दुईलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था बैँकले गरीदिएको छ।
रोजगार पाउनेमा हेटौँडाकी विन्दवासिनी कंसाकार र काठमाण्डौमा बस्दै आएका जेनी खड्का र संगीता मगर छन्। तीनैजनाले असोज १ गतेबाटै गणना हुने गरी रोजगारी पाएको बैंकले जनाएको छ। उनिहरुलाई सुरुको एक महिना करारमा र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थायी नियुक्ति दिइने बैंकले जनाएके छ ।
काठमाण्डौको कालोपुलमा गत वर्ष जेठ २ गते काभ्रे फूलबारीकी जेनीमाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड छ्यापेका थिए भने एसएलसी परीक्षाको तयारीमा रहेकी संगीता मगरलाई भने ट्युसन जान लाग्दा २०७१ फागुन १० गते रामेछाप फुलासीका जीवन विकले बसन्तपुरमा एसिड प्रहार गरेका थिए।

त्यस्तै, हेटौँडाकी विन्दवासिनी कंसाकारमाथि भने २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारत महारजगन्जका दिलीपराज केशीले एसिड खन्याएका थिए ।
एसिडपीडित युवतीहरुलाई कुमारी बैंकले रोजगारी दिएर उनीहरुलाई समाजमा पुनःस्थापना हुने अवसर सिर्जना गर्नुको साथै यसले उनीहरुमाथि अपराधविरुद्ध लड्न अझै हौसला प्राप्त हुने अभियन्ताहरु बताउछन् ।

हालै मन्त्रिपरिषद्को बैठकले तेजाब (एसिड) तथा ज्वलनशील पदार्थ प्रयोग गरी कसैको शरीर अंगभंग गर्ने र अपराध गर्न लगाउने व्यक्तिमाथि २० वर्ष सम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने गरीे ६ वटा कानुन संशोधन गर्न अध्यादेश पारित गरेको छ । अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ।

1

Scroll to Top