हिमालयन शेर्पा क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइजक्लब (बीबीसी) लाई ३–१ ले पराजित गरेको हो । टिमको जितमा मुताम्वा पिस्टोन भुनयोलीले पहिलो हाफमा एक गोल तथा सुरेश कुमाल र मनीष थापाले दोस्रो हाफमा एक–एक गोल गरे । बीबीसीका भुवन बस्नेतले एक गोल फर्काएर १–१ बराबरीमा ल्याएका थिए ।
शेर्पाले खेलको चौथो मिनेटमै मुताम्बा पिस्टोन भुनयोलीको गोलबाट अग्रता लिएको थियो । कप्तान विश्वास श्रेष्ठको फ्रिकिक प्रहारलाई मुताम्बाले हेड गर्दा बीबीसीका गोलरक्षक एन्जल श्रेष्ठले गोल भएको हेर्नु बाहेक केही गर्न सकेनन् ।
जितपछि शेर्पा ५ खेलबाट ५ अंकजोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बीबीसीको पनि ५ खेलबाट ५ अंक नै छ । गोल अन्तरमा बीबीसी नवौं र पुलिस १०औं स्थानमा रहेको छ ।


