नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला-जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छन्। ललितपुरमा आज ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ शिर्षकमा छलफल कार्यक्रममा सत्तारुढ कांग्रेसकी नेत्री देउवाले घरघरमा गएर महिला, बालिबालिका र ज्येष्ठ नागरिकहरुलाई सहज सेवा दिनका लागि हरेक स्थानीय तहमा सेवा केन्द्रहरुको स्थापना गर्ने कुरालाई सरकारले छलफलमा अघि बढाएको उल्लेख गर्दै त्यसको व्यवस्थापनमा ढिलाइ गर्न नहुने बताइन्।
उनले महिलाहरुको उजुरी हेर्ने नेपाल प्रहरीको महिला सेललाई पनि प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन्। नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयकी प्रमुख एसएसपी किरण शर्माले पछिल्ला दिनहरुमा महिला हिंसाका घटना बढ्दै गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला निकायहरुबीच बलियो सहकार्य हुनुपर्ने आवश्यकता औंल्याइन्। उनले महिला हिंसा हुने तर त्यसको उजुरी दिन पाउने अवसरसमेत महिलाहरुले पाउने अवस्था नभएको पनि बताइन्।
कार्यक्रममा पछिल्लो ६ महिनामा मात्रै देशभरमा घरेलु महिला हिंसा सम्बन्धी १४ हजार २ सय ३२ उजुरी पर्न आएको तथ्यांक पनि सार्वजनिक गरिएको थियो।


