चिकित्सा शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले सुधारका लागि थप पहल अघि बढाएको छ । चिकित्सा शिक्षा सुधारका क्रममा विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्न सरकारले सरोकारवाला निकायसँग छलफललाई तीव्रता दिएको हो ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बसेको बैठकमा चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या, सुधारका उपाय तथा कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा विस्तृत समीक्षा गरिएको छ ।
बैठकमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको थियो । चिकित्सा शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा देखिएका चुनौती पहिचान गर्दै समाधानका उपाय खोज्ने विषयमा पनि सहभागीहरूले धारणा राखेका थिए ।
छलफलमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।
बैठकले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ । विशेषगरी वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र कलेज व्यवस्थापनबीच उत्पन्न विवाद समाधानका लागि समिति गठन गरी पठाउने विषयमा छलफल भएको छ । विवाद समाधान गरी विद्यार्थीको अध्ययनमा अवरोध हुन नदिन आवश्यक पहल गर्ने सरकारको तयारी छ ।
त्यस्तै, चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषय पनि बैठकको महत्वपूर्ण एजेन्डा बनेको थियो । आर्थिक अभावका कारण चिकित्सा शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहज रूपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न ऋण सुविधासम्बन्धी व्यवस्था प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जनाइएको छ ।
कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्थामा संशोधन गर्ने विषयले पनि बैठकमा प्राथमिकता पाएको थियो । विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापनसँग जोडिएका कानुनी प्रावधान संशोधनका लागि अध्यादेशमार्फत प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको हो ।
बैठकमा शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।
चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आवश्यक नीतिगत सुधारसँगै सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय हुनुपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. अग्रवालले विगतका सम्झौता कार्यान्वयन र मेडिकल शिक्षालाई सुदृढ बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले चिकित्सा शिक्षाको गुणस्तर सुधार, शैक्षिक नतिजा समयमै सार्वजनिक गर्ने लगायतका विषयमा आयोगले आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।
सरकारले चिकित्सा शिक्षा सुधारलाई नीतिगत प्राथमिकतामा राख्दै सम्बन्धित निकायबीच समन्वय बढाउने र कार्यान्वयनमा बाँकी रहेका विषयलाई अघि बढाउने दिशामा छलफल केन्द्रित गरेको छ ।


