Banijya News

उत्पादन र लगानी बढाए मात्रै आर्थिक समृद्धि सम्भव : चेम्बर अध्यक्ष अग्रवाल

1
1.0K Shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उत्पादन, उद्योग, लगानी र उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

१२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले स्वदेशी उद्योगको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण र उत्पादन क्षमताको विस्तारलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्राकृतिक स्रोत तथा सम्भावनाले सम्पन्न मुलुक भए पनि उत्पादनका क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको उहाँको भनाइ थियो । स्वदेशमै उत्पादन गर्न सकिने वस्तुसमेत आयातमा निर्भर रहनु, युवाशक्ति रोजगारीका लागि विदेशिनु र पूँजी उत्पादनमूलक क्षेत्रभन्दा अनुत्पादक क्षेत्रमा केन्द्रित हुनु अर्थतन्त्रका प्रमुख चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो ।

अग्रवालले उत्पादनमुखी अर्थतन्त्रको विकासबिना व्यापार घाटा न्यूनीकरण, रोजगारी सिर्जना, राजस्व वृद्धि, आयात प्रतिस्थापन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने बताउनुभयो ।

उहाँका अनुसार निजी क्षेत्रले प्रशासनिक जटिलता, प्रक्रियागत ढिलाइ, उच्च उत्पादन लागत, औद्योगिक जग्गा प्राप्तिमा कठिनाइ, कमजोर प्रतिस्पर्धात्मक क्षमता तथा वातावरणीय स्वीकृति र पूर्वाधार निर्माणमा हुने ढिलाइका कारण उद्योग विस्तारमा समस्या भोगिरहेको छ ।

सरकारले गरेका कानुनी सुधार तथा अध्यादेशमार्फत अघि बढाएका प्रयासलाई सकारात्मक रूपमा लिँदै उहाँले उद्योग तथा लगानी विस्तारका लागि नियन्त्रणमुखीभन्दा सहजीकरण, प्रभावकारी नियमन र प्रोत्साहनमा आधारित नीति आवश्यक रहेको बताउनुभयो । लगानीकर्तालाई विकासका साझेदारका रूपमा सम्मान गर्दै स्वदेशी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने उहाँको धारणा थियो ।

नेपाली उत्पादनको स्वदेशी उपभोग बढाउनुका साथै विश्व बजारमा स्थापित गर्नुपर्नेमा जोड दिँदै उहाँले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन उद्योगको मागअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा, सीप विकास, अप्रेन्टिसशिप र कार्यस्थलमा आधारित तालिमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स तथा डिजिटल प्रविधिको प्रयोगमार्फत उद्योगको उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । नेपाललाई क्षेत्रीय उत्पादन तथा निर्यात केन्द्रका रूपमा विकास गर्न भारत, चीन, छिमेकी मुलुक तथा अन्य अन्तर्राष्ट्रिय बजारसँग आर्थिक सहकार्य विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

अग्रवालले उद्योग विभागलाई लगानी प्रवद्र्धन, औद्योगिक सहजीकरण र उद्योगीका समस्या समाधान गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यसैगरी, चेम्बरले उधारो असुली ऐनको प्रारम्भिक मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा बुझाइसकेको जानकारी दिँदै ऐन तर्जुमाको प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताउनुभयो ।

उद्योग विस्तार, उत्पादन वृद्धि, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन, गैरआवासीय नेपालीको पूँजी परिचालन, युवालाई उद्यमशीलताको अवसर र निर्यात क्षमता विस्तारलाई साझा राष्ट्रिय संकल्प बनाउनुपर्ने उहाँको धारणा थियो ।

राष्ट्रिय उद्योग दिवसका अवसरमा उहाँले उद्योग विभाग, नेपाल सरकार, उद्योगी, लगानीकर्ता तथा श्रमिक वर्गलाई शुभकामना दिँदै औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

1

Scroll to Top