सरकारले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षमा विद्युत चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको सरकारले लक्ष्यभन्दा कम अर्थात् १२.१६ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत चुहावट आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा झरेको छ । यससँगै सरकारले निर्धारण गरेको लक्ष्यसमेत पूरा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युत चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई दिएको थियो । उक्त लक्ष्य हासिल गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नीतिगत तथा संरचनागत सुधारमा जोड दिएका थिए । चुहावट नियन्त्रणका लागि दक्ष प्राविधिक जनशक्तिको परिचालन, व्यवस्थापनमा सुधार र आवश्यक निर्देशनमार्फत मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत चोरी, मर्मतसम्भारमा कमजोरी तथा लोड व्यवस्थापनका कारण विद्युत चुहावट हुने गरेको छ । पछिल्लो समय प्राविधिक समस्या देखिनासाथ तत्काल समाधान गर्ने व्यवस्था मिलाइएकाले पनि चुहावट घटाउन सहयोग पुगेको हो ।
ऊर्जा मन्त्रालयले विद्युत् नेटवर्कको स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक क्षमतामा सुधारलाई प्राथमिकता दिएको छ । आगामी दिनमा पनि चुहावट थप घटाउने उद्देश्यले प्राविधिक तथा व्यवस्थापकीय पक्षलाई चुस्त बनाइने मन्त्री श्रेष्ठले बताएका छन् ।
अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ । यस आधारमा नेपालको विद्युत चुहावट क्षेत्रीय औसतभन्दा कम देखिएको छ ।


