Banijya News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढ्दै, दुई महिनामै १३ हजारभन्दा बढीले गरे यात्रा

1
1.0K Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ । फ्लाइ दुबईले सञ्चालन गरेको दुबई–पोखरा–दुबई नियमित उडानमार्फत दुई महिनाको अवधिमा १३ हजार ४७४ यात्रुले सेवा लिएसँगै विमानस्थलको अन्तर्राष्ट्रिय उडानप्रति आकर्षण बढेको देखिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म गरेको १२२ वटा दुईतर्फी उडानबाट उक्त संख्यामा यात्रुले आवतजावत गरेका हुन् । यस अवधिमा दुबईबाट पोखरा आउने यात्रुको संख्या आठ हजार ११५ रहेको छ भने पोखराबाट दुबई जाने यात्रु पाँच हजार ३५९ जना रहेका छन् ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले यस उडानको सम्भावना बढाएको बताए ।

उनका अनुसार पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यात्रुको संख््या थप बढ्न सक्छ । हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्न काठमाडौँस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ । यस विषयमा दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए ।

२०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाइ दुबईले पहिलोपटक यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो ।

1

Scroll to Top