शिक्षकले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नपाउने भएका छन् ।
‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को दफा ७५ मा शिक्षकहरुले दान, उपहार, चन्दा प्राप्त गर्न सहयोग लिन नहुने व्यवस्था छ । त्यसको ब्याख्यात्मक टिप्पणीमा लेखिएको छ, ‘विद्यालयको काम, विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पर्न सक्ने गरी कुनै पनि शिक्षकले स्थानीय तहको पूर्वस्वीकृति विना आफूले वा आफ्नो परिवारको कुनै सदस्यद्वारा कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन नहुने व्यवस्था यस दफामा गरिएको छ ।’
कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार व्यवसाय गर्न नहुने व्यवस्था विधेयकमा ल्याइएको छ ।शिक्षकको अन्यत्रको संलग्नताको कारण शिक्षण सिकाइलाई असर पर्न सक्ने भन्दै उक्त व्यवस्था गरिएको हो ।
शिक्षकहरुलाई आफूखुसी लेख प्रकाशन र प्रसारण गर्न पनि रोक लगाइएको छ । तीन तहका सरकारबीचको पारस्परिक सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी वा जनताबीचको आपसी सम्बन्धमा प्रतिकूल असर पर्ने गरी कुनै लेख प्रकाशन गर्न, रेडियो, टेलिभिजन वा सामाजिक सन्जालको माध्यमबाट सार्वजनिक मन्तव्य दिन वा वक्तव्य प्रकाशन गर्न पाइने छैन ।


