काठमाडौंको बबर मंसिर ११ गतेदेखि दश लाखको लागतमा ट्राफिक लाइट जडान गरेको छ ।
पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजदेखि सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिका ट्राफिक विज्ञ जगत्मान श्रेष्ठले जानकारी दिएका छन् ।
एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनःबटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको श्रेष्ठले जनाए । उनका अनुसार रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्ने छन् । उनका अनुसार यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ ।
बबरमहल क्षेत्रमा बाटो काट्ने पैदलयात्रुको सङ्ख्या अत्यधिक हुने र दुर्घटनाको जोखिम देखिएकाले सुरुमा यो क्षेत्र रोजिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । “यो कामपाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो । उनले भने, यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ । प्रयोग गर्न जान्दा यसले सूचना देखाउँछ । यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ ।
यस्तो लाइट यसअघि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पस अगाडि पनि जडान गरिएकामा मर्मतसम्भार नगरिँदा दिगो हुन नसकेको महानगर कार्यालयले जनाएको छ ।


