हिमालयन बैंक लिमिटेडले सर्वसाधारणमा जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट गरेको छ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ साउन १३ गते बाँडफाँट गरेको हो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट ९ लाख २५ हजार ४६ जनामा आईपीओ बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले दिएको छ ।
यीमध्ये ९ जना आवेदकले भने थप १ कित्ताका दरले ११ कित्ता शेयर प्राप्त गरेको जानकारी विक्री प्रबन्धकले दिएको हो । कम्पनीको एफपीओ खरीदका लागि तोकिएको अवधिभित्र १८ लाख २५ हजार ९२२ जनाबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता माग भएको थियो । कुल आवेदकहरुमध्ये १७ लाख ४ हजार २७३ जनाले ३ करोड ३२ लाख ११ हजार ८० कित्ताको आवेदन रितपूर्वक भएको छ । २ हजार ३८ जनाले १ लाख ७६ हजार २६० कित्ताका लागि दिएको आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको छ ।
कम्पनीले प्रिमियम मूल्यसमेत जोडर प्रतिकित्ता १५७ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । यस कम्पनीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम एफपीओ जारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ ।


