सरकारले नवीनतम सोच भएका छ सय जना उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ बराबरको स्टार्टअप कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि ६६१ उद्यमीलाई स्टार्टअप कर्जा प्रवाहका सिफारिस गरिएको थियो । त्यसमध्येबाट ६१ उद्यमीलाई कर्जा दिन अस्वीकृत गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।
बैंकले स्थलगत निरीक्षण गर्दा आवेदनमा उल्लेख गरेका विवरण भन्दा फरक पाइएकाले उक्त परियोजनाहरुलाई रद्द गरिएको छ ।
सरकारले नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस्तो कर्जा वितरणका लागि स्टार्टअप कर्जा सञ्चालन कार्यविधि २०८१ ल्याएको थियो । उक्त कार्यविधिअनुसार उद्यमीहरुले ५ लाखदेखि २५ लाख रुपैयाँसम्मको कर्जा तीन प्रतिशत ब्याजदरमा परियोजना धितो राखेर पाउने व्यवस्था छ ।
गुप्ताका अनुसार गत वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि सरकारले एक अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । यसमध्येबाट ८८ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कुल विनियोजित बजेटमध्येबाट तीन प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च, कर्जा सुरक्षा (बिमा) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा र बाँकी रकम उद्यमीहरूलाई प्रवाह गरिएको छ । प्रतिष्ठानले उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गरेको छ ।
२०८१ भदौ ११ गते दोस्रो चरणको स्टार्टअप उद्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि प्रतिष्ठानले प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । २१ दिनको अवधि राखेर गरिएको आह्वानअनुसार भदौ ३१ गतेसम्म ५ हजार १५८ प्रस्ताव आएका थिए । जसबाट एक हजार बढी कृषि फार्म, होस्टेल, घरेलु उद्योग, आईटी लगायत क्षेत्रका १ हजार ३१४ वटा परियोजना प्रारम्भिक सूचीमा परेका थिए ।
प्रारम्भिक सूचीमा परेका परियोजना छनोटका लागि प्रस्तुतीकरण गर्न बोलाउँदा १ हजार ७३ वटा परियोजना प्रस्तावकले प्रस्तुतीकरण दिएका थिए । तीमध्येबाट ६६१ वटा परियोजनालाई कर्जा प्रवाहका लागि २०८१ वैशाख २१ गते सिफारिस गरिएको थियो । साथै, प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावकहरूको मूल्यांकन समितिको औसत अंकभार र बैंकबाट ‘क्रेडिट अप्राइजल’ गरी प्राप्त भएको अंकभार जोडी कुल अंकभार निकालिएको थियो । कुल अंकभारलाई आधार लिई कम्तीमा ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकलाई प्राथमिकताका आधारमा छनोट गरिएको थियो । त्यसमध्येबाट बैंकले अनुगमन गरी कर्जा प्रवाह गरेको छ ।


