विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण लगातार बढ्दै गएको छ । यो हालै ३७ ट्रिलियन डलरको आँकडा पार गरेर नयाँ कीर्तिमान बनाएको छ, । ऋण बढ्दै जाँदा अमेरिकको आर्थिक भविष्यमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । यो विकराल अवस्थाको मुख्य कारणमध्ये एक हो, ब्याज भुक्तानीमा हरेक दिन खर्च भइरहेको ३ अर्ब डलर र ऋणको दैनिक वृद्धिदर २२ अर्ब डलर ।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आर्थिक संकटलाई सम्बोधन गर्न आफ्नो महत्त्वाकांक्षी योजना अगाडि सारेका छन् । उनको दाबी छ कि भारतलगायत अन्य देशहरूबाट आयात हुने सामानहरूमा ५०% सम्मको भारी कर लगाएर अमेरिकाले ऋण तिर्न पर्याप्त आम्दानी गर्न सक्छ । यो योजना कत्तिको प्रभावकारी हुन्छ भन्नेमा अर्थशास्त्रीहरूबीच बहस चलिरहेको छ ।
ऋणको डरलाग्दो अवस्था
कोरोना महामारीपछि अमेरिकाको ऋण १४ ट्रिलियन डलरले बढेको छ । यसको मुख्य कारण सरकारी खर्चमा भएको भारी वृद्धि र राजस्व संकलनमा कमी हो । यो अवस्था यति भयावह बनेको छ कि सरकारले आफ्नो विकासका परियोजनाहरूमा लगानी गर्न नसक्ने र सबै पैसा ऋण तिर्नमा मात्र खर्च हुने जोखिम बढेको छ ।
ऋण बढ्दै जाँदा अमेरिकाले पछिल्लो हप्ता मात्रै ७२४ अर्ब डलरको बन्ड बेचेको थियो । जुन ऋण व्यवस्थापनका लागि सरकार कति दबाबमा छ भन्ने देखाउँछ । अवस्थाले अमेरिकी नागरिकहरूको भविष्यको आर्थिक सुरक्षामा पनि असर पार्न सक्छ ।
ट्रम्पको कर रणनीतिः सम्भव कि असम्भव ?
ट्रम्पले आयातित सामानमा कर बढाएर ऋण तिर्ने र अमेरिकालाई फेरि धनी बनाउने दाबी गरेका छन् । उनले भारत र ब्राजिलजस्ता देशहरूमा ५०% सम्म कर लगाएर ठूलो मात्रामा पैसा संकलन गर्न सकिने बताएका छन् । उनको तर्क छ कि यसबाट संकलन भएको पैसाले ऋण तिर्नका साथै अमेरिकी नागरिकलाई ’लाभांश’ समेत दिन सकिन्छ ।
अन्तर्राष्ट्रिय व्यापार विज्ञहरूका अनुसार, आयातमा भारी कर लगाउँदा अन्य देशहरूले पनि अमेरिकाको सामानमा बदलामा कर लगाउन सक्छन्, जसले विश्वव्यापी व्यापार युद्धको स्थिति सिर्जना हुन सक्छ। यसबाट अमेरिकाका निर्यातकर्ताहरूलाई ठूलो नोक्सान हुन सक्छ ।
अर्कोतर्फ, कर बढाउँदा आयातित वस्तुहरू महँगो हुने हुँदा अमेरिकी उपभोक्ताहरूलाई प्रत्यक्ष असर पर्छ। यसले मुद्रास्फीति बढाउन सक्छ र सर्वसाधारणको जीवनयापनमा थप कठिनाई ल्याउन सक्छ । के अमेरिकाले आफ्नो आर्थिक समस्या समाधान गर्न व्यापार युद्धको जोखिम उठाउन तयार छ ? अमेरिकी नागरिकहरू आयातित वस्तुमा बढ्ने मूल्यको मार खेप्न तयार छन् ? यी प्रश्नहरूको उत्तरले नै अमेरिकाको आगामी आर्थिक दिशा निर्धारण गर्नेछ ।


