Banijya News

औद्योगिक पूर्वाधार निर्माणमा एक अर्ब ५५ करोड रुपैयाँ खर्च गरीने

1
1.2K Shares

उद्योग मन्त्रालयलेऔद्योगिक पूर्वाधार निर्माण गर्न लागि डेढ अर्ब रुपैयाँ खर्चिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३मा औद्योगिक पूर्वाधार निर्माण गर्न लागि एक अर्ब ५५ करोड रुपैयाँ व्यवस्था गरिएको बताएको छ ।

उद्योगहरूलाई प्रोत्साहित गर्नका लागि सरकारले यो वर्षदेखि विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई शुरूका तीन वर्षको भाडा छुट दिने भएको छ । विशेष आर्थिक क्षेत्रमा नयाँ उद्योग नआए पछि सरकारले उद्योगीलाई आकर्षित गर्नका लागि भाडामा विशेष छुट दिएको छ । विशेष आर्थिक क्षेत्रको मासिक भाडा दर प्रति वर्ग मिटर २० रुपैयाँ बाट घटाई प्रति वर्ग मिटर ५ रुपैयाँ कायम गरिनेछ । औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको तीस प्रतिशतभन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा दिने बजेटमा व्यवस्था गरिएको छ ।

त्यसैगरी, औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई जलविद्युत उत्पादन कम्पनी सरह र त्यस्तो औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा उपलब्ध गराउने भएको छ । औद्योगिक क्षेत्रको लागि निर्धारित मासिक भाडा दरमा ५० प्रतिशत कटौती गर्ने चालु आर्थिक वर्ष २०८२/८३को बजेटमा व्यवस्था छ ।

औद्योगिक वातावरण तयार गर्न सरकारले विशेष आर्थिक क्षेत्र (सेज) लाई सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा घोषणा गरेको छ । भैरहवा र सिमरा सेज स्थापना भए पनि पर्याप्त उद्योग स्थापना भएका छैनन् । विराटनगर, गोरखा, कैलाली ,नुवाकोटमा सेज निर्माणले गति लिन सकेको छैन । भैरहवा सेजमा २७ वटा उद्योगले सञ्चालनको अनुमति लिएका छन् भने सिमरा सेजमा ३० वटा उद्योगले अनुमति लिएका छन् ।

मुलुकमा औद्योगिकीकरण नहुँदा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा औद्योगिक क्षेत्रको योगदान न्यून रहेको छ । सरकारले हरेक वर्ष औद्योगिक वातावरण तयार गरी स्वदेशी उत्पादन बढाउने बताउँदै आए पनि अपेक्षित रुपमा उत्पादन बढ्न सकेको छैन । अघिल्ला वर्षको तुलनामा उत्पादन बढेर निर्यातमा भने सुधार आएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा निर्यात करिब ८२ प्रतिशतले वृद्धि भएको छ । यो अहिलेसम्मकै धेरै हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१मा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँका वस्तु निर्यात भएकोमा गत आवमा एक खर्ब २४ अर्ब रुपैयाँ बढेर दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएको छ । निर्यात व्यापारमा उल्लेखनीय वृद्धि हुनुमा नीतिगत सुधारसँगै सोयाबिन तेल प्रमुख कारण भएको सरोकारवाला बताउँछन् ।

एउटा वस्तुको उत्पादन भन्दा पनि औद्योगीकरण भएर धेरै वस्तुको उत्पादन बढे त्यस्तो निर्यात दिगो हुन्छ । औद्योगीकरण नहुँदा स्वदेशमा प्रयोग गर्ने वस्तु विदेशबाट आयात हुन्छन् । निर्यात धेरै हुने वस्तुमा पनि औद्योगिक उत्पादन कम छन् । सोयाबिन तथा सनफ्लावर तेल, अलैँची, कार्पेट, फाइबर, चिया, छुर्पीलगायत वस्तु छन् । स्वदेशमा औद्योगिक उत्पादन नहुँदा मुलुकले ठूलो व्यापार घाटा व्यहोरेको छ । आव २०८१/८२ मा आयात १३.२५ प्रतिशतले बढेको छ। आयात २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँले बढेको छ । अघिल्लो आव २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएकोमा गत आव मा १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँको आयात भएको छ।

स्वदेशमा उद्योगधन्दा नफस्टाउँदा विदेशी सामानको भर पर्नुपर्ने अवस्था छ । औद्योगिक उत्पादन नहुँदा मुलुकको व्यापार घाटाको खाडल पनि ठूलो भएको छ । उपयुक्त लगानी वातावरणको अभाव, औद्योगिक क्षेत्रको उत्पादन लागत महँगो, कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता, उद्योगका लागि आवश्यक जग्गा लिन झन्झटिलो र महँगो, तीन तहकै सरकारले लगाउने करको कारण औद्योगिक वातावरण बन्न नसकेको उद्योगी, व्यवसायीको गुनासो छ । नेपालमा नयाँ उद्योग व्यवसाय खोल्न आवश्यक पर्ने जग्गा प्राप्ति प्रक्रिया निकै झन्झटिलो रहेको उद्योगी बताउँछन् ।

1

Scroll to Top