नेपालको वित्तीय क्षेत्रले गत आर्थिक वर्षमा उल्लेखनीय नाफा कमाएको तथ्यांक सार्वजनिक भएको छ । वाणिज्य बैंकहरूले मात्रै ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा ४४% बढी हो । यस्तो नाफा वृद्धिले बैंकहरूको वित्तीय अवस्था सहज भएको संकेत गरेपनि यसले नेपाली ऋणीहरूको वास्तविक अवस्थालाई भने ओझेलमा पारेको छ ।
बैंकहरूको नाफा बढिरहेका बेला, धेरै साना तथा मझौला व्यवसायीहरू र व्यक्तिगत ऋणीहरू चर्को ब्याजदर र सुस्त अर्थतन्त्रका कारण समस्यामा छन् । उनीहरूका लागि ऋणको ब्याज र किस्ता तिर्नु एक ठूलो चुनौती बनिरहेको छ । बैंकहरूको नाफाको ग्राफ उकालो लागिरहेको बेला ऋणीहरूको निष्क्रिय कर्जा(NPL) पनि बढ्नुले यो विरोधाभासपूर्ण अवस्थालाई थप स्पष्ट पारेको छ । बैंकहरूले नाफा कमाइरहेको भएपनि निष्क्रिय कर्जाको दर बढ्दै जानु चिन्ताको विषय हो । गत वर्ष वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा ३.७८% बाट बढेर ४.१७% पुगेको छ । यसले के देखाउँछ भने, धेरै ऋणीहरूले समयमै किस्ता र ब्याज तिर्न सकेका छैनन् । बैंकहरूले नाफा कमाउनुको एउटा मुख्य कारण उनीहरूको आम्दानीका अन्य स्रोतहरू (जस्तैः शुल्क र कमिसन) मा भएको वृद्धिपनि हुन सक्छ, तर यसले ऋणीमाथिको आर्थिक भारलाई कम गर्दैन । अर्थतन्त्रमा मन्दी आउँदा ऋणीलाई सहज बनाउनुपर्नेमा राष्ट्र बैंकको नीतिले पनि बैंकहरूलाई नै बढी प्राथमिकता दिएको भन्ने आरोप छ । गभर्नरको लचक नीतिले बैंकहरूलाई नाफा बढाउन सहयोग पुर्याएको देखिन्छ, तर यसले वास्तविक ऋणीको समस्या समाधानमा कत्तिको मद्दत गर्यो भन्ने प्रश्न उठिरहेको छ ।
सरकार र राष्ट्र बैंकले बैंकको नाफा मात्र नहेरी ऋणीहरूको वास्तविक समस्यालाई पनि सम्बोधन गर्न आवश्यक भएपनि ऋणीको मार्क नबुझी कमाइलाई मात्र आधार मानेर वाहावाहिती कमाउँदै आएका छन् । ब्याजदरलाई स्थिर राख्ने, ऋण पुनर्संरचनाका लागि थप सहज नीति ल्याउने र साना व्यवसायीलाई राहत दिने खालका कार्यक्रमहरू ल्याउनु पर्नेमा राष्ट्र बैंक यसफर्त अग्रसर भएको पाइदैन् ।
बैंकहरूको नाफा दिगो बनाउन र अर्थतन्त्रलाई चलायमान राख्नका लागि ऋणीहरू स्वस्थ र सक्षम हुनु जरुरी छ । बैंकको नाफा मात्र कमाउँने मात्र गर्दा यसले वित्तीय प्रणालीमा दीर्घकालीन जोखिम निम्त्याउने तर्फ राष्ट्र बैंक सजग भएको देखिदैन् ।
कस्तो छ नेपालका वाणिज्य बैंकहरूमा आर्थिक सुधारको अवस्था
गत आर्थिक वर्ष २०८१–८२ मा नेपालका वाणिज्य बैंकहरूले अर्थतन्त्रको सुस्तताका बाबजुद आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको देखिएको छ। २० वटा वाणिज्य बैंकको कुल नाफामा अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको छ, जुन सहज अवस्थातर्फ फर्किरहेको एक सकारात्मक सङ्केत हो। यद्यपि, निष्क्रिय कर्जा (NPL) को व्यवस्थापन भने अझै चुनौतीपूर्ण रहेको छ।
मुख्य वित्तीय सूचकहरूमा सुधार
नाफामा वृद्धिः २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा कुल ७१ अर्ब ४५ करोड ८ लाख रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँले बढी हो।
वितरणयोग्य मुनाफाः बैंकहरूको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ७ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेकोमा गत वर्ष यो बढेर १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यसले बैंकहरूको औसत लाभांश क्षमता १३.११ प्रतिशत रहेको देखाउँछ।
कर्जा नोक्सानी व्यवस्थापन : कर्जा असुलीमा केही सुधार भएकाले खराब कर्जाका लागि छुट्याउनुपर्ने प्रोभिजनिङ रकममा पनि कमी आएको छ। गत वर्ष बैंकहरूले १७ अर्ब ४८ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्, जुन अघिल्लो वर्षको २३ अर्ब ४८ करोड रुपैयाँभन्दा कम हो।
निष्क्रिय कर्जा मा चुनौती
कुल निष्क्रिय कर्जामा वृद्धिः नाफामा वृद्धि भए पनि बैंकहरूको निष्क्रिय कर्जा भने बढेको छ। अघिल्लो वर्ष ३.७८ प्रतिशत रहेको औसत निष्क्रिय कर्जा गत वर्ष बढेर ४.१७ प्रतिशत पुगेको छ।
उच्च निष्क्रिय कर्जा भएका बैंकहरूः हिमालयन बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी ७.२८ प्रतिशत पुगेको छ। यसका साथै कुमारी बैंक (६.४२%), एनआइसी एसिया बैंक (६.२८%), र प्राइम कमर्सियल बैंक (५.५६%) को निष्क्रिय कर्जा पनि ५ प्रतिशतभन्दा माथि रहेको छ।
कम निष्क्रिय कर्जा भएका बैंकहरूः एभरेष्ट बैंक एकमात्र यस्तो बैंक हो जसको निष्क्रिय कर्जा १ प्रतिशतभन्दा कम (०.३८%) रहेको छ। स्ट्याण्डर्ड चार्टड बैंक र सिद्धार्थ बैंकको निष्क्रिय कर्जा पनि क्रमशः १.४७ प्रतिशत र २.६२ प्रतिशत रहेको छ।
नाफा कमाउने र गुमाउने बैंकहरू
सर्वाधिक नाफा कमाउनेः गत वर्ष २० वाणिज्य बैंकमध्ये १६ वटाले नाफा बढाएका छन्। नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आईएमई बैंक रहेका छन्।
चमत्कारिक सुधारः केही बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको छ। कुमारी बैंकले ४५८ गुणा र नेपाल बैंकले १३१ गुणाले आफ्नो नाफा बढाएका छन् ।
नाफामा गिरावटः चार वटा बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ। सबैभन्दा बढी गिरावट एनआइसी एसिया बैंकको नाफामा आएको छ, जुन ७० करोड १४ लाख रुपैयाँबाट घटेर १० करोड १५ लाख रुपैयाँमा झरेको छ।
सुधारका कारणहरू
बैंकहरूको नाफामा भएको वृद्धिको मुख्य कारणहरूमा राष्ट्र बैंकको लचकतापूर्ण नीति र कर्जा पुनर्संरचनाको सुविधालाई मानिएको छ। यसका साथै, बैंकहरूले कर्जा असुलीमा ध्यान केन्द्रित गर्दा निष्क्रिय कर्जा धेरै बढ्नबाट रोकिएको पनि देखिन्छ।


