कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफूहरुलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् । विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्यांकन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन् ।
उक्त विरोध प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरेका थिए । प्रदर्शनमा सहभागीहरुले ‘१२ वर्षको मेहनत खेरको जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाउँ ?,मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको उनीहरुले जनाएका छन् । विद्यार्थीहरुले मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । तर, शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको प्रष्टीकरण दिएको छ ।
नतिजासम्बन्धी विरोध चर्किँदै गएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको बताएका छन् । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको छ ।
बोर्डको नतिजा प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको भन्दै आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट हटाई समयमै नतिजा सार्वजनिक गरिएको उनले प्रस्टोक्ति दिएका छन् । नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको र यो नियमित प्रक्रिया अनुसार नै भएको उनको भनाइ छ ।


