Banijya News

तातोपानी नाका बन्दहुँदा व्यवसायीहरू अलमल्लमा, चाढपर्वमा महँगीको चिन्ता

1
1.2K Shares

दसैँको लागि सामान आयात गर्ने मुख्य समयमै नेपालका उत्तरी नाका तातोपानी बन्द हुँदा व्यवसायीहरू अलमल्लमा परेका छन्। नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग नेपाल विशेषगरी लत्ताकपडा, सवारीसाधन, घरायसी सामान र इलेक्ट्रोनिक्सका लागि निर्भर छ। तर, दशैंको किनमेल सुरु हुन अब एक महिनामात्र बाँकी रहँदा नाकाहरू अवरुद्ध हुँदा चाडपर्व खल्लो हुने संकेत देखिएको छ।

गत असार २४ गतेको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस तथा व्यापारिक सामानको आवागमन रोकिएको छ। त्यसैगरी, बाढीपहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि बन्द छ। यी दुई नाका बन्द हुँदा चीनबाट नेपाल आउँदै गरेका सयौँ कन्टेनर तथा ट्रकहरू बीच बाटोमै अलपत्र परेका छन्, जसले गर्दा व्यवसायीहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।

यो समस्या हरेक वर्ष दोहोरिने गरेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी सङ्घले सरकारसँग वैकल्पिक नाकाहरू खोल्नका लागि कूटनीतिक पहल गर्न माग गरेको छ। सङ्घले तातोपानी र रसुवागढी बाहेक अन्य नाकाहरूलाई पनि व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ। यसअघि २०७२ सालमै व्यवस्थापिका संसदको विकास समितिले कोरला र ओलाङ्चुङगोला नाका सञ्चालन गर्न सकिने सुझाव दिएको थियो।

दश वर्षअघि नेपाल र चीनका उच्च अधिकारीहरूले सात वटा उत्तरी नाकाहरू खोल्न सहमति जनाएका थिए, जसमा तातोपानी, कोरला, किमाथांका, लामाबगर, ओलाङ्चुङगोला, आम्जापास, यारी हिल्सा, र लार्के समावेश थिए। तर, हालसम्म रसुवागढी र तातोपानीबाहेक अन्य कुनै पनि नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन्। कोरला र ओलाङ्चुङगोला जस्ता केही नाकाहरू वर्षैभरि सञ्चालन गर्न सकिने सम्भावना देखिएकाले ती नाकाहरूलाई तत्काल खुलाउन सरकारले पहल गर्नुपर्ने व्यवसायीहरूको माग छ।

चीनबाट चाडपर्व लक्षित सामान आयात हुने मुख्य नाकाहरू बन्द हुँदा व्यापारिक गतिविधिमा कमी आउनुका साथै उपभोक्ताहरूलाई पनि महँगीको मार पर्ने सम्भावना छ। साथै, सरकारले पनि ठूलो मात्रामा राजस्व गुमाउनुपर्ने अवस्था आएको छ। यस समस्यालाई समाधान गर्न र नेपाल–चीन व्यापारलाई थप सहज बनाउन सरकारले थप उत्तरी नाकाहरू खुलाउन कूटनीतिक पहल गर्नुपर्ने र आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा सङ्घले जोड दिएको छ।

1

Scroll to Top