कर्जा विस्तार लक्ष्यभन्दा तल रहेकाले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बैंक तथा वित्तीय संस्थाहरूलाई ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’का लागि थप पुँजी व्यवस्था गर्न नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा समेत त्यस्तो पुँजी राख्नुपर्ने अवस्था नआएको जनाएको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार, गत असार मसान्तसम्मको कर्जा विस्तार र कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) अनुपात पाँच प्रतिशतभन्दा तल रहेकाले चालु वर्ष मात्र होइन, अझै दुई वर्षसम्म पनि क्यापिटल बफर आवश्यक नपर्ने देखिन्छ।
उनले भने, “क्रेडिट–टु–जीडीपी ग्याप पाँच प्रतिशतभन्दा तल छ। अहिले औसत ९१ प्रतिशत छ, पछिल्लो वर्ष ९२ प्रतिशत थियो। ९६ प्रतिशत पुगेपछि मात्र क्यापिटल बफर राख्नुपर्ने हुन्छ।”
पछिल्ला दुई वर्षयता कर्जा विस्तार सुस्त भएको छ। निजी क्षेत्रमा ऋण माग घट्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी थुप्रिएको छ। यसकै कारण ऋण–जीडीपी अनुपात आवश्यक सीमा नपुगेकाले क्यापिटल बफर राख्ने अवस्था सिर्जना भएको छैन।
अन्तर्राष्ट्रिय नियामक रूपरेखा ‘बासेल थ्री’अनुसार, बैंकहरूले ऋण र जीडीपीको अन्तर (क्रेडिट–टु–जीडीपी ग्याप) ५ प्रतिशतभन्दा माथि पुगेपछि थप पुँजी राख्नुपर्ने हुन्छ। ग्याप ५ देखि ७.५ प्रतिशत भएमा ०.५ प्रतिशत, ७.५–१० प्रतिशत भएमा १ प्रतिशत, १०–१२.५ प्रतिशत हुँदा १.५ प्रतिशत, १२–१५ प्रतिशतमा २ प्रतिशत र १५ प्रतिशतभन्दा माथि पुगेमा २.५ प्रतिशतसम्म अतिरिक्त पुँजी राख्नुपर्ने प्रावधान छ।
नेपाल राष्ट्र बैंकले २०१५ मै ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’को व्यवस्था गरेको भए पनि कोभिड–१९ का कारण कार्यान्वयन ढिला भएको हो। हालसम्म बफर राख्ने अवस्था सिर्जना भएको छैन।
वाणिज्य बैंकलाई न्यूनतम प्राथमिक पुँजीकोष ८.५ प्रतिशत र पूरक पुँजी २.५ प्रतिशत गरी ११ प्रतिशत कायम गर्नुपर्ने प्रावधान छ। औसत ११ प्रतिशतभन्दा माथि पुगेपछि मात्र थप पुँजी राख्नुपर्ने व्यवस्था छ। तर, ऋण माग घट्दा यस वर्ष पनि बैंकहरूलाई थप पुँजी राख्नुपर्ने छैन।
प्रणालीमा निक्षेप ७२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५५ खर्ब ७९ अर्ब रुपैयाँमै सीमित छ। यसकै कारण बैंकिङ प्रणालीमा करिब ८ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ। सीडी रेसियो ७६ प्रतिशतमा सीमित छ, जुन राष्ट्र बैंकले तोकेको ९० प्रतिशतभन्दा निकै कम हो।
यसैबीच, निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.२२ प्रतिशत पुगेको छ। कर्जा लगानी सुस्त हुनु, असुलीमा बढी ध्यान दिनु र निजी क्षेत्रमा ऋण माग नबढ्नु आर्थिक गतिविधि शिथिल भएको स्पष्ट संकेत भएको विज्ञहरूको भनाइ छ।
के हो काउन्टर साइक्लिकल बफर ?
काउन्टर साइक्लिकल बफर भनेको बैंक तथा वित्तीय संस्थाले आर्थिक अवस्थाको उतारचढावअनुसार राख्नुपर्ने अतिरिक्त पूँजी हो। सामान्य अवस्थामा बैंकहरूले न्यूनतम पुँजी अनुपात कायम गरे पुग्छ, तर जब ऋण विस्तार अत्यधिक हुन्छ र त्यसले अर्थतन्त्रमा जोखिम बढाउँछ, त्यस्तो अवस्थामा थप पूँजी राख्नुपर्ने हुन्छ। यसले बैंकलाई भविष्यमा ऋण असुलीमा समस्या आउँदा वा आर्थिक मन्दीको अवस्थामा घाटा थेग्न मद्दत गर्छ। यही कारणले यसलाई सुरक्षात्मक पूँजी वा बफर मानिन्छ।
अन्तर्राष्ट्रिय नियामक रूपरेखा बासेल–थ्री (Basel III) अन्तर्गत काउन्टर साइक्लिकल बफरको व्यवस्था गरिएको हो। यसमा कर्जा–जीडीपी अनुपातलाई आधार मानिन्छ। अनुपात पाँचदेखि सात दशमलव पाँच प्रतिशतसम्म पुगेमा ०.५ प्रतिशत पूँजी राख्नुपर्ने, सात दशमलव पाँचदेखि १० प्रतिशतसम्म पुगेमा १ प्रतिशत, १० देखि १२.५ प्रतिशतमा १.५ प्रतिशत, १२.५ देखि १५ प्रतिशतमा २ प्रतिशत र १५ प्रतिशतभन्दा माथि पुगेमा २.५ प्रतिशतसम्म थप पूँजी राख्नुपर्ने व्यवस्था छ।
नेपालमा राष्ट्र बैंकले २०१५ मा नै यो व्यवस्था ल्याए पनि कार्यान्वयन ढिलो भएको छ। हालसम्म ऋण–जीडीपी अनुपात आवश्यक स्तर नपुगेकाले बैंकहरूले अतिरिक्त पूँजी राख्नुपरेको छैन। न्यूनतम पुँजी अनुपात ११ प्रतिशत कायम गर्नुपर्ने प्रावधान भने लागू भएको छ। यस अर्थमा भन्नुपर्दा, काउन्टर साइक्लिकल बफर भविष्यमा सम्भावित जोखिमलाई कम गर्ने एउटा सुरक्षात्मक व्यवस्था हो, जसले बैंकिङ प्रणालीलाई थप मजबुत बनाउँछ।


