Banijya News

ब्याजदर घटाएर शेयर र रियल स्टेटमा कर्जा प्रवाह बढाउँदै बैंकहरु

1
1.1K Shares

तरलता प्रशस्त भएपछि बैंकहरुले ब्याजदर घटाएरै भए पनि शेयर र रियल स्टेट क्षेत्रमा ऋण प्रवाह गर्ने रणनीति लिएका छन्। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६ प्रतिशतमा झरेसँगै बैंकिङ प्रणालीमा सस्तो कर्जाको प्रतिस्पर्धा चर्किएको हो।

शेयर बजारमा लगानी गर्न सहज बनाउन हाल बैंकहरुले ६–७ प्रतिशत ब्याजदरमै शेयर धितो कर्जा उपलब्ध गराइरहेका छन्। लगानीकर्ताका अनुसार बैंकहरुले औपचारिक योजना सार्वजनिक नगरे पनि स्थिर ब्याजदरमै कर्जा दिने आक्रामक प्रस्ताव अघि सारिरहेका छन्। यसले शेयर धितो कर्जाको माग तीव्र गतिमा बढाएको छ। गत वर्षको ११ महिनामै यस्तो कर्जा ३५ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

रियल स्टेट क्षेत्रमा पनि समान स्थिती देखिएको छ। बैंकहरुले करिब ६ प्रतिशत ब्याजदरमै घरजग्गा कर्जाको स्थिर स्किम ल्याएका छन्।

यसबीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा ल्याएको छ। व्यक्तिगत कर्जा सीमा २५ करोड रुपैयाँसम्म पुर्याइएको छ भने संस्थागत लगानीकर्ताका लागि सीमा नै हटाइएको छ।

बैंकरहरुका अनुसार तरलता बढाएर निष्क्रिय राख्नेभन्दा लाभ हुने क्षेत्रमा प्रवाह गर्नु उत्तम ठानिएकाले उनीहरु शेयर कर्जा र रियल स्टेट कर्जामा आक्रामक देखिएका हुन्। अहिले बैंकिङ प्रणालीमा झण्डै साढे ९ खर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम उपलब्ध छ। मुद्रास्फीति समेत न्यून रहेकाले नीति निर्माताले ब्याजदर घटाएर कर्जा विस्तारलाई सहज बनाउन खोजेका छन्।

राष्ट्र बैंकले गैरबैंकिङ संस्थाका लागि छुट्याएको रेगुलेटरी रिजर्भलाई दुई वर्षसम्म पुँजीकोषमा गणना गर्न दिने व्यवस्था गरेको छ। साथै, पुँजीकोष दबाब कम गर्न हकप्रद शेयरमार्फत पूँजी बढाउने अवसर दिएको छ। यससँगै वाणिज्य बैंकहरुले सस्तो ब्याजदरमा शेयर धितो कर्जा प्रवाह गरिरहेको देखिन्छ।

अहिले कृषि विकास बैंकले ५.८४ देखि ८.३४ प्रतिशतसम्म, एभरेस्ट बैंकले ६.२७ देखि ८.२७ प्रतिशतसम्म, राष्ट्रिय वाणिज्य बैंकले ६.३ देखि ६.८ प्रतिशतसम्म, सिद्धार्थ बैंकले ६.३४ देखि ९.५९ प्रतिशतसम्म र सिटिजन्स बैंकले ६.३५ देखि ९.३५ प्रतिशतसम्म ब्याजदरमा शेयर धितो कर्जा दिइरहेका छन्।

1

Scroll to Top