नेपाल आयल निगम (एनओसी) का अधिकारीहरू नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा आवश्यक सहयोगबारे ठोस प्रस्ताव लिएर भारतीय आयल कर्पोरेसन (आइओसी)सँग छलफल गर्न दिल्ली पुगेका छन् ।
मंगलबार कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक दीपक बराल र पूर्ण रिजालसहित निर्देशकद्वय विनीतमणि उपाध्याय र सुरज साह आइओसीको मुख्यालय पुगेका हुन् । उनीहरूले बुधबार दिउँसो आइओसीका अधिकारीहरूसँग भेट गरी नेपालमा मल कारखानामा लगानी गर्ने सम्भावनाबारे छलफल गर्ने कार्यसूची रहेको निगमले जनाएको छ ।
कार्यकारी निर्देशक भट्टका अनुसार आइओसीले विगतदेखि नै नेपालमा मल कारखाना खोल्न प्रस्ताव पठाउँदै आएको छ । “सरकारीस्तरमै मल कारखाना सञ्चालन गर्नेबारे विषय उठान भएको छ । त्यसैले आइओसीले भारतमा सञ्चालन गरिरहेको मल कारखानाबारे बुझ्ने र विगतका प्रस्तावमाथि छलफल गर्न हामी दिल्ली आएका हौँ,” उनले बताए ।
निगम र आइओसीबीच करिब ५५ वर्षदेखि सहकार्य हुँदै आएको छ । सन् २०१६ देखि आइओसीले भारतमा मल कारखाना सञ्चालन गरिरहेको छ भने करिब डेढ वर्षअघिदेखि नेपालमा मल कारखाना खोल्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रस्ताव गर्दै आएको छ ।
आइओसी प्रमुख प्रवद्र्धक रहेको हिन्दुस्तान उर्वरक तथा रसायन लिमिटेडको गोरखपुरस्थित कारखानाबाट प्राकृतिक ग्यास पाइपलाइन विस्तार गरी नेपालसम्म ल्याउन सकिने प्रस्ताव आइओसीले पहिले नै राखेको छ । त्यस्तै, नेपालमै उत्पादन हुने तर खपत नभएको मल भारत लैजाने प्रावधानसमेत प्रस्ताव गरिएको निगमले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन २७ गते रासायनिक मल अभावबारे मन्त्रालयस्तरीय बैठक डाकी नेपालमै कारखाना खोल्ने अध्ययन खाका ल्याउन निर्देशन दिएका थिए । त्यसपछि उद्योग मन्त्रालयले निगमका निर्देशक विनीतमणि उपाध्यायको संयोजकत्वमा अध्ययन कार्यदलसमेत गठन गरेको छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिक १३ लाख टन मलको माग छ । अध्ययनले भने कारखाना दिगो रूपमा सञ्चालन गर्न कम्तीमा १० लाख टन बजार आवश्यक देखाएको छ । नेपालमा माग सुनिश्चित भएकाले कारखाना सञ्चालन सम्भव देखिएको सरकारको बुझाइ छ ।
आइओसीसँगको सहकार्यलाई नेपालले सकारात्मक रूपमा हेरेको छ, हिन्दुस्तान उर्वरक तथा रसायन लिमिटेडका गोरखपुर, बरौनी र सिन्द्रीमा तीनवटा प्लान्ट सञ्चालनमा छन् र आइओसीकै २९.६७ प्रतिशत सेयर लगानी छ ।
छलफलमा मल कारखानासँगै पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण र हाइड्रोजन बस सञ्चालनका विषय पनि समावेश गरिएको छ । निगमका कार्यकारी निर्देशक भट्टका अनुसार पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधि तयार भई सञ्चालक समितिबाट स्वीकृत भइसकेको छ । उनका अनुसार इथानोल मिसाउँदा पेट्रोल सस्तो हुने र गुणस्तरमा असर नपर्नेछ ।
त्यस्तै, आइओसीको सहयोगमा दुईवटा हाइड्रोजन बस सञ्चालन गर्नेबारे पनि छलफल हुने भएको छ । काठमाडौं विश्वविद्यालयले हाइड्रोजन कार परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको निगमले जनाएको छ ।


